बिसे नगर्चीको बयान

-श्रवण मुकारुङ्ग

मालिक  !
म यो गोरखा राज्यमा
अढाई सय वर्षपछि बौलाएँ ।
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिर तिर्मिर भएर
हजुरकोशिर दशवटा देखिरहेछु
खैं मेरो पैतला कहाँ निर छ ?
कहाँनिर छ बिसे नगर्ची ?
मालिक  !
म बौलाएँ ।

मैले त महाराजको सेवा गर्नु पर्ने
इतिहासको रक्षा गर्न
यो गोरखकालीको पाँउ छोएर
नूनको सोझो हुनुपर्ने
अढाई सय वर्ष पछि आज के भयो मलाई ?
यो बिसेलाई दशा लाग्यो मालिक  !

म बौलाएँ ।
नाथे मेरी स्वास्नी न हो मारिएकी
नाथे मेरी छोरी न हो बलात्कृत भएकी
नाथे यो बिसेको झुप्रो न हो जलाईएको
यतिमै यो बिसे उफ्रिनु पर्ने? थुइक्क विसे …॥
म बौलाएँ मालिक !
म बौलाएँ ।
मेरो हात भाँचियो
अब म हजुरका भारदारहरुलाई
लबेदा सिउन सक्दिन
नरसिंगा फुक्न, सनाई बजाउन
अथवा कुनै मंगलगान
वा मृत्युगीत गाउन सक्तिनँ
मेरो खुट्टा भाचियो
अब म हजुरको राज्यको पहरा गर्न सक्तिनँ
मेरो दिमागै ठीकमा छैन
अब म ठिक्कले बोल्न सक्तिनँ
मालिक ! म बौलाएँ ।

मालिक !
यो गोरखा राज्य अघि उभिएका
हिजोका ती अग्ला अग्ला पहाडहरु
आज कसरी यस्तरी होचा होचा भए
हिजोका ती सग्ला र कल्कलाउँदा
यहाँका मानिसहरु
आज कसरि यस्तरी खुनी र कुरुप भए?
यो दरौंदी किन उल्टो बगेको देख्छु?
यो दरबारै किन खण्डहरु जस्तो देख्छु?
म बौलाएँ । मालिक ! म बौलाएँ । मालिक !
मालिक !

हजुरको तरबारले टाउको काट्छ कि फूल ?
भ्रममा परें म
हजुरको बन्दुकले विचार ढाल्छ कि मान्छे?
भ्रममा परें म
अढाई सय वर्षदेखि म तपाई समक्ष छु
मालिक !
म कसरी आतंककारी हुन सक्छु?
म केवल बोलाएँ मालिक !

बौलाएँ
हो मैले मालिकको दिव्पोपदेश पालन गरिन हुँला
रक्सी खाएर
यो देश मैले पनि आर्जेको
हुँ भने हुँला
भानुभक्त बाजेको गीत
र मेरो सियो बराबर हो भने हुँला
मैले सिएका सुकिला लुगा ओढेकाहरुलाई
मेरो नाङ्गो आङ देखाएँ हुँला
बौलाए पछि मैले भगवानलाई पनि गाली गरे हुँला
मालिक !
मान्छे बौलाएपछि आफैसित पनि निहुँ खोज्दोरहेछ
अढाई सय वर्षदेखि मैले तुनेका थाङनामा हुर्केका
मेरा दरसन्तानहरु कहाँ कहाँ पुगे
मैले खोज्न चाहें हुँला
मेरा औंलामा खोपिएका छ्यान्द्रा
र बगेका रगतहरुले मलाई उक्साएर
तरबारले आर्जेको मुलुक भन्दा
मैले धागोले उनेको मुलुक विशाल ठाने हुँला
मालिक !
यस माटोको इतिहाससँगै
म हजुरको राष्ट्रमा छु
म कसरी अराष्ट्रिय हुनसक्छुः
म साँच्चै बौलाएँ मालिक !
साँच्चै बौलाएँ  !
मेरो टाउको फनफनी घुमिरहेछ
जमीन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिर तिर्मिर भएर
हजुरको शिर दशवटा देखिरहेकोछु
खोई मेरो पैताला कहाँनिर छ?
कहाँनिर छ बिसे नगर्ची?
मालिक ! म बौलाएँ ।