लौन अब त केही गरौं

                        -तेज सुनार
ए! म त जिवितै रहेछु,
तिमी पनि जिवितै?
उनि पनि जिवितै छन् रे,
तिनीहरु पनि, उहाँहरु पनि
फलानो पनि त अझै मरिसकेको छैन नि !
यहाँकाले पनि, त्यहाँकाले पनि सास फेर्दै छन् रे
फलानो पनि यही छरे,
ढिस्कानाले मात्र बसाई सरेको त हो नि
फलानो फलानो संस्था, संगठन, नेता,
कार्यकर्ता पनि छन् भन्थे
तर खोई ?
म, हामी, तिमी, तिनीहरु, उनीहरुले
सबैले आफू जिवित रहेको,
आफू यही भएको, अस्तित्वमा रहेको
सबुत दिन सकेको?
राज्य संक्रमणको अवस्थामा भएको बेला,
राज्यको पुनसंरचनाको कुरा चलिरहेको बेला,
राज्यले अन्तरिम व्यवस्थापन गरिरहेको अवस्थामा,
समावेशीकरणको ठूला ठूला कुरा उठिरहेको बखत,
समावेशी लोकतन्त्रीक गणतन्त्रको बहश चलिरहेको बखत ।
तसर्थ,
अब त बेला पनि बिस्तारै टल्न थाल्यो,
थोरै मात्र बाँकी छ,
यही बचेंको सानो घडीमा भए पनि
लौन अब केही बौलौं, मुख फोडौं
लौन अब त केही चल्बलाऔं
लौन अब त केही गरौं
हामी जिवित भएको, अस्तित्वमा रहेको
प्रमाणित गरेर देखाऔं,
ताकि “राजनीतिक खेल”खेल्नेहरुले,
राज्य संचालन गर्ने ठेकेदार हौं भन्नेहरुले
अब त दलितलाई पनि सहभागि बनाउन,
प्रतिनिधित्व गराउन,
दलित सरोकारका मुद्दाहरु संबोधन गरुन्,
दलित अधिकारका सवालहरु स्थापित होऔन ।