स्वर्ग जानेद्वारामा विभेद, तपाईं पनि पर्नु होला नि !

हिन्दु धर्म मान्नेहरुको लागि अन्तिम पवित्र स्थल, जहाँ हिन्दु धर्मालम्बीहरु आफ्नो जीवनको अन्तिम घडीसम्म पनि आउन प्रयत्न गरिरहने स्थल हो पशुपतिनाथ । जीवनको कुनै अवस्थामा वा दिनमा पसुपतिको दर्शन गर्न पाईएमा वा गरिएमा जीवनमा शान्ति, शुख र पुण्य कमाईने विश्वास नेपाली समुदाय त्यसमा पनि अझ हिन्दु धर्मालम्बीहरुमा बढी पाईन्छ ।

जुन स्थलमा दर्सन मात्र गर्दा धेरै कुरा पाईने आशा गरिन्छ भने अझ यस संसारलाई छोडेर स्वर्गको दुनियाँमा प्रवेश गर्दा यसै स्थलबाट प्रवेश गर्न पाईएमा त झन कति पुण्य कमाईदो होला जस्तो तपाई हामी सबैलाई लाग्दछ र यो विश्वास सबैको पनि हो । यो संसारलाई छोडेर अर्को दुनियाँमा प्रवेश गर्दा जसले पनि सहजता, सम्मान र शान्ति पूर्बक विधाई चाहान्छ र जुन दुनियाँमा जाने हो त्यो दुनियाँमा सम्मान पूर्वक स्वागतको अपेक्षा राख्दछ । जसको आत्माले पनि सम्मान र शान्ति खोज्दछ । तर त्यो सम्मान र शान्ति जसले विधाई गर्न बसिरहेका छन् तिनीहरुले गर्नेहो ।

तर यहाँ(पशुपतिमा) आत्मालाई सम्मान र शान्ति दिने कार्य भएको पाईन्न । पशुपतिमा पशुपति विकास कोष समिति खडा गराई त्यहाको व्यवस्थापन गर्ने जिम्मा लिने गरेको छ । जहाँ पशुपति विकास कोष अन्तर्गतको नै घाट सेबा पसल छ । सायद यसैले व्यवस्थापन गरे अनुसार घाटहरु व्यवस्थित गरिएका छन् । जस अनुसार पशुपतिमा २ वटा र ७ वटा घाट गरि जम्मा ९ वटा दाह संस्कार गर्ने घाटहरु रहेका छन् । तपाईलाई अचम्म लाग्ला एकै पटकमा ९ वटा घाट नलेखेर २ र ७ गरि लेखेको होला भनेर । यसमा पनि केहि लुकेको छ कि? जुन २ वटा घाटहरु पशुपति मन्दिरबाट पारिपट्टि जाने दुई बटा पुल रहेका छन् ति पुलको माथी पट्टि रहेका छन् भने ७ वटा घाटहरु ति पुल भन्दा तलतिर रहेका छन् ।

पशुपति बिकास कोषले व्यवस्थित गरि सबैला सजिलो होस भन्नाका लागि त्यहाँ दाह संस्कार गर्नु भन्दा पहिला नाम दर्ता गराउनु पर्ने व्यवस्था गरेको छ । जहाँ नाम दर्ता नगराईकन दाहसंस्कार गर्न पाईदैन । जब नाम दर्ता गराईन्छ तब मात्र पशुपति आर्य घाटमा दाहसंस्कार गर्न अनुमति पाईन्छ र दाहसंस्कार गर्ने घाटसम्म तोकि दिन्छ । घाट सेबा पसलले जुन घाट तोकि दिन्छ त्यो घाटमा मात्र तोकिएको लास दाहसंस्कार गर्नु पर्दछ ।

खै! खड्किएको र अचम्मको कुरा म जति पटक त्यो पशुपति आर्यघाटमा मेरा नजिकका साथीहरुको मानिसको दाहसंकार गर्न पुग्छु जति बेला पनि म एउटै घाटमा दाहसंस्कार गर्न पुगेको हुन्छु र देखेको हुन्छु । खै मलाई थाहा छैन सायद यो संयोग पर्न गएको हो कि । तर होईन रैछ । मैले त्यहाँ उपस्थित केहि मानिसहरुसंग सोधे र हामी केहि साथीहरु बिच छलफल पनि गरियो । कुरो के रहेछ भने त्यहाँ पनि घाटमा स्तरिकरण रहेछ । अघि उल्लेख गरेका २ वटा घाटहरुमा शाही परिवार, शाही नातेदार, राणा, कुलिन घर परिवारलाई दाहसंस्कार गर्ने त्यस पछिकामा पनि स्तरिकरण गरि उपाध्याय बाहुन, क्षेत्री हुदै घाटको स्तरिकरण गरेको बुझिन्छ । म परि रहने घाटको कुरा गर्दा अन्तिमतिरबाट गन्ने हो भने दोश्रो र अगाडिबाट गन्ने हो भने छैठौंमा पर्दछ ।

यसरी मैले बुझ्दै जादा जुन ठाँउमा दाहसंस्कार गर्ने व्यक्तिको नाम दर्ता गराईन्छ हो त्यो दर्ता गराउने ठाँउबाट बिभेदको रेखा केरिने संभावना रहेको पाईयो । नाम दर्ता गराउदा नाम, जात र थर लेखाउनु पर्दछ । जात र थर लेखाईए पछि दलित समुदायको हो भन्ने भए पछि अन्तिमतिरबाट गन्ने हो भने दोश्रो र अगाडिबाट गन्ने हो भने छैठौं घाटमा पारिदिने परिपाटी रहेको छ । यसरी पशुपति विकास कोषको पशुपति आर्यघाटलाई व्यवस्थित गर्न सकृय रहेको घाट सेवा पसलले नै बिभेद गर्नु कति उचित होला? यसरी बिभेद गर्नुको कारण त्यस पसलमा अतिवादी ब्रह्माणवादीहरु हुनु र ती अतिवादी ब्रह्माणवादीले छुवाछूतलाई मान्यता दिनु नै प्रमुख कारण हो । त्यसकारण राज्यको पुर्नसंरचना चलिरहेको बेला पशुपति बिकास कोषको व्यवस्थापन समितिमा पनि सबै वर्ग, समुदाय, लिंग, जातजातीको समावेशिकरण गरिनु आवश्यक देखिन्छ ।