भुइँमा पढ्छन् दलित विद्यार्थी

नुवाकोट, माघ ४ – भौतिक पूर्वाधार अभावमा यहाँको एक दलित समुदायमा खुलेको विद्यालयका विद्यार्थी चिसो भुइँमा बसेर अध्ययन गर्न बाध्य छन् ।

तीन वर्षअधि तारुका-५ चन्दनी नजिकको मिजार बस्तीमा दलित समुदायले जनश्रमदानमा खोलेको नमुना जनजागृति प्रावि भौतिक पूर्वाधारको अभावले अध्ययनरत  विद्यार्थीहरू चिसो भुइँमा बसेर अध्ययन गर्न बाध्य भएका हुन् । आर्थिक स्रोतको अभावले समुदायका मानिसले विद्यालयलाई सरकारी स्वीकृति लिन सकेका छैनन् ।  स्वीकृति नहुँदा दरबन्दीका शिक्षकसमेत विद्यालयले पाउन सकेको छैन ।

‘विद्यालयलाई आर्थिक सहयोग मात्रै होइन, विद्यार्थीका लागि परालको गुन्द्रीसमेत जुटाउन सकिएको छैन,’ शिक्ष्ाक नारायणमान श्रेष्ठले भने । जिल्लाको एकमात्र दलित  समुदायले खोलेको विद्यालयमा शिक्षा कार्यालयद्वारा वाषिर्क रूपमा उपलब्ध गराइने दुईवटा राहत कोटास्वरूप प्राप्त हुने केही रकमबाट प्रशासनिक खर्च र निजी स्तरमा  शिक्षक राखिएको छ । तीन कक्षासम्म सञ्चालित विद्यालयमा गाउँका असी दलित बालबालिका अध्ययनरत छन् ।

‘हामीले ज्यालाबाट बचेको रकमले स्कुल बनायौं,’ व्यवस्थापन समितिका अध्यक्ष ठुले मिजारले भने । भौतिक सम्पत्तिमा परालको सुकुलसमेत नहुँदा कैयांै समय चिसो बाट विद्यार्थी प्रभावित भएको अध्यक्ष मिजारले बताए । केही साताअघि सांसद महेन्द्रबहादुर पाण्डेले विद्यालयलाई दस थान फर्निचर उपलब्ध गराए पनि त्यो अपुग छ ।  विद्यालयमा बस्ने सुविधा नहुँदा दैनिक बालबालिकाको स्कुल आउने चाहनासमेत घटेको अभिभावक सीता मिजारले बताइन् ।

दलित समुदायको शैक्षिक स्तर सुधार्न खाई-नखाई विद्यालय खोलियो तर त्यसमा विद्यार्थीका लागि चाहिने शैक्षिक सामग्रीदेखि आधारभूत आवश्यकताका सामानसमेत  जोड्न नसकिएकोमा भने गाउँलेहरू दुःखी छन् । ‘दलित समुदायमा शिक्षास्तर राम्रो नहुँदा अहिलेसम्म एकजनाले पनि प्रवेशिका परीक्षा उत्तीर्ण गर्न सकेका छैनन्,’  शिक्षाक श्रेष्ठले भने ।

श्रोत:  कान्तिपुर दैनिक[2063-10-05]