प्रेमभन्दा पहिले जान्नुपर्ने कुरा

बालकृष्ण साह
प्रेम गर्नु वा नगर्नु नितान्त व्यक्तिगत कुरा हो । हाम्रो माया चोखो छ, पवित्र छ र हामी दुवै वैवाहिक बन्धनमा बाँधिन्छौं भन्ने व्यक्तिहरूले पनि गर्भपतनसम्म गराएको हामीले पाएको छौं । अनि यो प्रेम केही होइन, यो त समयसँगै परिवर्तनशील छ भन्दै हाँसी-हाँसी जीवन बिताइरहेका मानिसहरू पनि प्रेममा असफल भएकै कारणले मद्यपान तथा लागू पदार्थको सेवन गर्न थालेको हामी पाउँछौं । त्यसैले यदि तपाईं जीवनसाथीका रूपमा कुनै चिकित्सकलाई रोज्न चाहनुहुन्छ भने निम्न कुराहरूमा ध्यान पुर्‍याउनुहोस्-
यदि तपाईं महिला साथी चाहनुहुन्छ भने
 ः
-शारीरिक सौन्दर्यभन्दा पनि बौद्धिक एवं मानसिक पक्षलाई ध्यान दिनुहोस् किनभने उमेरसँगै बूढी नभएको को छ र ?
-सैद्धान्तिक कुरा एउटा हो आफ्नो व्यवहारलाईं राम्रो बनाउने तथा पढेको कुरा व्यवहारमा उतार्न खोज्ने युवतीलाई रोज्नुहोस् किनभने गफले बौद्धिकताको मूल्यांकन गर्न मिल्दैन ।
-आफ्नो मनलाई एकातिर पन्छाएर मस्तिष्कले सोच्नुहोस्, के उनी तपाईकै लागि बनेकी हुन् ?
-उनका बारेमा धेरै कुरा बुझनुहोस् । उनका साथीहरूबाट धेरै कुरा थाहा पाउन सकिन्छ । केही महत्त्वपूर्ण जानकारी उनी पढ्ने कलेज अथवा कार्य गर्ने स्थलका कर्मचारीहरूले पनि दिनेछन् ।
-उनका कमजोरीहरू, उनमा भएका अवगुणहरू खोज्नुहोस् र ती कुराहरूसँग तपाईं सम्झौता गर्न सक्नुहुन्छ कि सक्नुहुन्न राम्ररी विचार गर्नुहोस् ।
-तर ढिलो नगर्नुहोस् नत्र तपाईंले प्रस्ताव राख्दा मलाई माफ गर म त…लाई मनपराउँछु भन्ने उत्तर आउनसक्छ ।
यदि पुरुष साथी चाहनुहुन्छ भने ः
-शरीर नहेरी मन र मस्तिष्क हेर्नुहोस्, आखिर दस वर्षपछि सबैको शरीर मोटो भुूडे र तालु खुइले हुने निश्चित छ ।
-प्रतिभाशाली व्यक्ति रोज्नुहोस्, किनभने चिकित्सक धेरै हुन्छन् तर प्रख्यात थोरै हुन्छन् ।
-हतारमा निर्णय नगर्नुहोस्, उसलाई राम्ररी बुझ्नुहोस्, तपाईंले कसरी उसको हेरविचार गर्ने, माया गर्ने, उसप्रतिको जिम्मेबारी कसरी पूरा गर्ने अनि उसलाई कसरी खुसी राख्ने आदि कुराको राम्रो अध्ययन एवं विश्लेषण गर्नुहोस् ।
-उसका कमजोरी तथा अवगुणहरू खोज्नुहोस् र ती कुराहरूसँग तपाईं सम्झौता गर्न सक्नुहुन्छ कि सक्नुहुन्न राम्ररी विचार गर्नुहोस् ।
-धेरै ढिला नगर्नुहोस् किनभने पुरुषहरू भमरा हुन्, फूल नपाएपछि उनीहरू अरूतिर भांैतारिन सक्छन् ।
प्रेममा असफल भएको देखिए पनि घर-परिवार तथा व्यवहारमा डाक्टरहरू असफल भएका छैनन् । जति ठूलो डाक्टर भए पनि चौबीसै घन्टा अस्पतालमा बस्नुपर्ने हुँदैन, पार्टी भ्रमण, चाडबाड डाक्टरका पनि हुन्छन् । चिकित्सा पेसा मात्र एउटा त्यस्तो हो जुन पेसा अन्य पेसाहरूको भन्दा बढी सामाजिक एवं बढी जिम्मेवारीपूर्ण छ । यो पेसामा लागेकाहरू पनि यही समाजका हुन् । चिकित्सकहरू वास्तवमै भावुक हुन्छन् । उनीहरूमा सेवाभाव हुन्छ र सबैभन्दा ठूलो कुरा त उनमा पनि चाहना र माया गर्ने मुटु हुन्छ । डाक्टर पनि साधारण मानिस नै हो, उसको चाहना, भावना, साधारण मानिसको जस्तै नै हुन्छ । त्यसैले डाक्टर पाउन ठूलो भाग्य नै हुनुपर्छ भन्ने छैन ।

Source: मंसिर १०, २०६२ साप्ताहिक