छुवाछूत मूक्त घोषणाको एक वर्ष

इन्द्रबहादुर सार्कीलाई छुवाछूत मुक्त राष्ट्रको उपहार

अर्जुन थपलिया
नेपाल छुवाछूत मुक्त राष्ट्र घोषणा भएको जेठ २१ गते एक वर्ष पुग्छ । तर इन्द्रबहादुर सार्कीको पीडा हेर्दा यो घोषणाको कुनै हैसियत छैन । जेठ १५ गते मैले पहिलोपटक दैलेख टेकेँ । १६ गते साँझ ६ बजे जिल्ला प्रहरी कार्यालय अगाडि १५-२० जनाको भीड देखियो । त्यहाँ दुई बहिनीहरूले बोलाएर भने, हेर्नुस् यहाँको अवस्था । मैले घटना बुझ्ने प्रयास गरेँ ।हुलको बीचमा स्ट्रेचरमाथि सुताइएको घाइतेलाई देखाउँदै उनका आफन्तले भने- ‘हजुर भात छोइयो भनेर भीरबाट हुत्याइदिए ।’ विस्तारमा कुरो बुझ्दै जाँदा जेठ १४ गते साँझ ८ बजे नारायण नगरपालिका वडा नं ६ भुर्ती गाउँका २३ वषर्ीय इन्द्रबहादुर सार्की आफ्ना १३ वषर्ीय भाइसँग धानको बीउमा पानी लाउन खेत जाँदैरहेछन् । धानकै बीउमा पानी लगाएर फर्किएका जनक न्यौपाने, हरि न्यौपाने र प्रदीप न्यौपानेसँग उनीहरूको जम्काभेट भयो । न्यौपाने दाजुभाइले भात खेतमै बसेर खाने भनेर लगेका रहेछन् । पानी नभएको कारण भात फर्काएर ल्याउँदै रहेछन् । तलतिरबाट उक्लेका सार्की दाजुभाइ मास्तिरबाट आएका न्यौपाने दाजुभाइसँग बाटोमा छोइएछन् । जनक न्यौपानेले भात किन छोइस् डुम भनेर गाली गर्दै इन्द्रबहादुर सार्कीलाई मुक्का हानेछन् र भीरबाट हुत्याइदिएछन् । झन्डै ५० मिटर तल पुगेका इन्द्रलाई आधा घन्टापछि गाउँलेले उद्धार गरेका रहेछन् । इन्द्रको जीउमा लागेको घाउ हेर्ने हो भने उनी संयोगले मात्र जीवित रहेको सहजै अनुमान लाउन सकिन्थ्यो ।

भोलिपल्ट बिहानै सार्की समुदाय घाइते बोकेर जिल्ला प्रहरी कार्यालयमा उजुर गर्न आएका रहेछन् । घाउ जाँच गराइपाउँ भनेर निवेदन दिएछन् । त्यसपछि अस्पतालमा बिरामीलाई उपचार गर्न भर्ना गराएछन् । अस्पतालमा सामान्य उपचार गरेर घर लैजाउ भनी १६ गते ४ बजे पठाइएछ । जबकि घाइतेको स्थिति र घाउ हेर्दा हप्तौंसम्म अस्पतालमा बस्नुपर्ने देखिन्थ्यो । घाइतेका आफन्तले भने, हजुर भीरबाट हुत्याउने मान्छे एमाले नेता हो । एमाले पार्टीको पावरले गर्दा प्रहरीले दोषीलाई कारबाही गरेन । एमालेको अफिसमा पनि गयौं, वास्ता गरेनन् । भीरबाट हुत्याउने एमाले निकट अनेरास्ववियु दैलेख जिल्ला कमिटी उपाध्यक्ष रहेछन् ।
मैले पीडितहरू अगाडि दुई-चार शब्द बोलेँ, एमाले नेता ईश्वर पोखरेल पनि दैलेख आउनुभएको छ, उहाँलाई घाइते देखाउनुपथ्र्योर् नि, निसाफ पाइन्थ्यो कि । घटना हेर्दा साह्रै अन्याय भएजस्तो लाग्यो मलाई । मागेर दलितले निसाफ भेट्दैन । घाइतेलाई यो अवस्थामा घर लानुभन्दा जिल्ला प्रहरी कार्यालय अगाडि हामी सबै बसेर धर्ना दिऊँ ।
मेरा कुराले दलितहरू उत्साहित भए । झन्डै एक घन्टा अत्यन्त शान्तिपूर्ण तरिकाले धर्ना बस्ने कार्य भयो । मैले काठमाडौंमा गणेश विकेलाई फोन गरेर घटनामा एमाले कार्यकर्ताको संलग्नता रहेको बताएँ । कान्तिपुर समाचारदाता काठमाडौं गएको थाहा पाएर उहीँ गुणराज लुइँटेललाई फोन गरेँ । पीडितको फोटो इमेल गर्छु, समाचार छापिदिनुपर्‍यो भनेर आग्रह गरेँ । उहाँको सम्मति पाएपछि म इमेल गर्न साइवर गएँ । अचानक विद्युत आपूर्ति बन्द भएकोले फोटो पनि पठाउन सकिएन । हामी तीनजना ईश्वरी नेपाल, कृष्ण चन्द र म होटलतिर फर्किरहेका थियौं ।
जिल्ला प्रहरी कार्यालय अगाडि जम्मा भएको भीडले हामीलाई घेरा हाल्यो । भीडमा प्रहरी पनि थिए । एक प्रहरीले मलाई समातेर डीएसपीसाबले बोलाउनु भा’छ हिँड्नुस् भन्ो । म जिल्ला प्रहरी कार्यालयभित्र पसेँ । बाहिरबाट एउटा हुल पिट्, मार्, हान् भन्दै मसँगै भित्र पस्यो । भित्र गएर बेञ्चमा बस्नेबित्तिकै डीएसपी मोहनराज जोशीले सोधे, तपाईं को हो र के काम गर्नुहुन्छ ? मैले आफ्नो परिचय दिएँ । गैरसरकारी संस्थाहरूमा काम गर्ने गरेको र लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनमा सरिक रहेको बताएँ । मेरो कुरा सकिन नपाउँदै डीएसपी जंगिए । अपमानजनक किसिमले अपशब्द निकाल्दै तैंले तुरुन्त जिल्ला छोड्नुपर्छ भन्नथाले । कुर्सीबाट जुरुक्क उठेर मुड्की उज्ज्याए ममाथि । मैले कडा प्रतिवाद गरेँ । मानवीय हिसाबले व्यवहार गर्न डीएसपीलाई आग्रह गरेपछि उनी केही शान्त भए । त्यसपछि मसँगै भित्र पसेको हुलले विवाद थाल्यो । हाम्रो पार्टी र हाम्रो नेता ईश्वर पोखरेलको नाम किन लिइस् तैंले भन्नथाले । एमालेको हुल पिटुँला र मारुँलाझैं गरी खनिएपछि डीएसपी फेरि जंगिए । डीएसपी भन्दै थिए, यो प्रतिगमनकारी राजावादी मान्छे हुनुपर्छ वा फोरमको पो भन्नथाले ।
२३ गते यहाँ विश्व हिन्दू महासंघले हिंसा भड्काउनेगरी पुराण लगाउन पर्चा छरेको छ -पर्चा पढेर सुनाउँदै) यो त्यही कामको लागि तयारी गर्न आएको हो । दैलेखका गैससहरूलाई पार्टीविरुद्ध उतार्न यो आएको हो । डीएसपी आरोप लगाउँदै जाने र एमालेगण हो-हो भन्दै समर्थन गर्दै जाने । मैले जुन-जुन फोनबाट काठमाडौं फोन गरेको थिएँ, त्ाी-ती पसले आएर यसो भन्यो, यस्तो बोल्यो भनेर बेलिविस्तार लगाउन थाले ।
मैले सकभर प्रतिवाद गर्न खोजेँ । म प्रतिगमनकारी र दरबारिया होइन । म लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनमा सक्रिय मान्छे हुँ । शान्तिपूर्ण तरिकाले धर्ना दिने र स्वस्थ किसिमले विरोध गर्न पाइन्छ लोकतन्त्रमा । एमाले गणलाई भनेँ, तपाईंहरूको विरोधमा बोल्दा यस्तो गर्नुहुन्छ भने वाईसीएलको कामको ब्यथ्र्यै विरोध गर्नुहुन्छ तपाईंहरू । उस्तै काम गर्न खोज्नुभएको हो ? स्थिति अत्यन्तै विष्फोटक बनिसकेको रहेछ । मेरो कुनै कुराले कसैलाई कुनै असर नगर्ने देखियो । प्रहरी कार्यालयभित्रै आइलाग्ने स्थिति पो भयो । डीएसपीले भने, तपाईं तुरुन्तै दैलेख छोड्नुस् । हामी सुरक्षा गर्न सक्दैनौं । मैले पिटाइ खानबाट जोगिने अरू कुनै उपाय तत्काल देखिन । म र मेरा साथीहरूले तत्काल बच्नका लागि भन्यौं, हामी पनि एमालेकै कार्यकर्ता हौं । पार्टी र नेताविरुद्ध केही गल्ती बोलिएछ भने क्षमा गर्नुहोला भन्दै माफी माग्यौं । एमाले गणले धम्की दिए, पत्रिकामा घटना छापिए भोलि ठीक हुने छैन । यति भनेर एमालेगण प्रहरी कार्यालयबाट निस्किए ।
बाहिर निस्किनासाथ मसँगै घुमिरहेका स्थानीय व्यक्ति कृष्ण चन्दलाई एमाले गणका केही भद्रहरूले प्रहरीकै अगाडि कुटपिट गरे । प्रहरीले कृष्ण चन्दलाई हिरासतमा लियो ।
रातको ११ बजिसकेको थियो । डीएसपीले यहाँ बस्ने ठाउँ छैन, होटलमा नै जानुस् भनेर चोर बाटोबाट निस्कन भने । उनले सुरक्षाका लागि भोलि बिहान ५ बजे नै जिप्रकामा आइपुग्न भने । हामी चोर बाटोबाट होटलतिर लाग्यौं । भोलिपल्ट ५ बजे म पुनः जिप्रका प्रवेश गरेँ । ७ बजे डीएसपीसंग भेट भयो । उनले भने, तपाईंको कारण जिल्लाको सुरक्षास्थिति बिगि्रयो । आज ६ पार्टी मिलेर ४ वटा गैससमा आगो झोस्ने योजना बनाएका छन् । तपाईंलाई यहाँबाट बचाएर निकाल्न नसकिने भयो । कसरी बच्नुहुन्छ, आफैं बच्नुस् ।
मित्र लीला टमाटा र किशोर होटलका साहू ध्रुव श्रेष्ठको प्रयासमा एमाले नेताहरूसँग बिहान ८ बजे वार्ता भयो । एमाले पार्टी र नेताको नाम लिएकोमा क्षमा माग्ने र पत्रिकामा घटना नछापिने सर्तमा मैले तालिम चलाउन पाउने भएँ । मैले नेताहरूको आदेश मानेँ । म उहिले एमाले भए पनि ०४८ सालपछि एमाले नरहेको पनि बताएँ । राति भीडबाट बच्न झूट बोलेकोमा क्षमा मागेँ । एमाले जिल्ला उपसचिव लक्ष्मी पोखरेल निकै शालीन हुनहुँदोरहेछ । उहाँले भन्नुभयो, तपाईंकी बहिनी सम्झनाले मलाई फोन गर्नुभएको थियो । उहाँले सोभियत संघ विघटन हुनाको कारण जातीय द्वन्द्व बताउँदै दैलेखको घटनालाई जातीय रूपमा नहेरी वर्गीय रूपमा हेर्न गैससहरूलाई आग्रह गर्नुभयो । अहिले पार्टी र सरकारलाई अप्ठ्यारो पर्ने कुनै काम नगर्न पनि सम्झाउनुभयो । डर र त्रासमा २ दिन दैलेख बसेर तालिम चलाइयो । १९ गते सुर्खेत झरियो । अन्त्यमा एमाले जिल्ला कमिटीका दलित सदस्य गोपाल नेपालीले भन्नुभयो, दुवै पक्ष हाम्रो पार्टीका हुन् । हामी आफैं मिलाउँछौं ।
म जतिबेला प्रतिगमनविरुद्ध सडकमा आन्दोलनकारीहरूसँग थिएँ, डीएसपीसाब आन्दोलनकारीहरूमाथि लाठी बर्साउने काममा हुनुहुन्थ्यो होला । अहिले नं १ लोकतान्त्रिक गणतन्त्रवादी हुनुभएछ । बधाई छ, तपाईंलाई । तपाईंले आरोप लगाएर मेरो छवि बिगि्रँदैन । तर तपाईंले पीडित इन्द्रबहादुर सार्कीलाई भात छोएकोले भीरबाट हुत्याउने जनक न्यौपानेलाई थुनामा राखेर कारबाही चलाउनुभएन । बरु अलिअलि औषधी खर्च देऊ र मिलाऊ है भाइ भन्दै जिप्रकाबाट ससम्मान घर पठाउनुभयो । यो मेरै अगाडि भएको घटना हो । त्यसकारण म भन्छु, तपाईं दलित विरोधी र ब्राह्मणवादी डीएसपी हो । एमालेका नेता गणसँग मेरो आग्रह छ, मलाई जति अपमान र बेइज्जती गरे पनि कुनै गुनासो छैन । विधिको शासनमा विश्वास गर्ने, दण्डहीनताको विरोध गर्ने कर्तव्य र दलितप्रति निष्ठाको कारण म यति भन्न बाध्य छु, इन्द्रबहादुर सार्कीलाई भात छोएकै कारण एमाले निकट अनेरास्ववियु दैलेखका उपाध्यक्ष जनक न्यौपानेले भीरबाट हुत्याएकै हुन् । यस घटनामा जनक दोषी हुन् । उनीमाथि राज्यले कुटपिट र छुवाछूतको अपराधमा मुद्दा चलाउनुपर्छ र त्यसका लागि एमालेले पीडितलाई सहयोग गर्नुपर्छ । पार्टीबाट पनि उनलाई निष्कासन गरेर महासचिव माधव नेपालको दलितवादी घोषणाको इज्जत राख्नुपर्छ । यो घटनालाई टालटुल गरेर पार्टीमा नै मिलाउन खोजे एमालेले छुवाछूतलाई संरक्षण गरेको ठहर्छ ।
एमाले जिल्ला कमिटीका दलित सदस्य गोपाल नेपाली, घटना मिलाउनु भनेको न्याय गर्नु होइन । हेर्नुहोस्, इन्द्रबहादुरको ज्यानमाथिको चोट । उनी अहिलेसम्म पनि उचित उपचार नपाएर घाइते छन् । के यो छुवाछूत मुक्त राष्ट्रमा दलितले पाउने उपहार हो ?
Source: http://www.ekantipur.com