दलितसँग बिहे गर्ने युवकले बाबुको किरिया गर्न पाएनन्

काभ्रे, काभ्रेपलाञ्चोक, जेठ १७ गते । दलितसँग विवाह गरेको भन्दै जिल्लाको साठीघर भगवती गाउँ विकास समितिमा एक युवकलाई गाउँलेहरूले बाबुको किरिया गर्नबाट वञ्चित गराएका छन् । साठीघर भगवती गाविस-७ निवासी दीपक खड्काले रामेछापनिवासी हीरा विश्वकर्मासँग विवाह गरेको कारण देखाउँदै गाउँलेहरूले किरिया गर्नबाट वञ्चित गराएका हुन् ।

गत आइतबार बाबुको मृत्यु भएपछि काजकिरिया गर्न घरमा पुगेपछि आफूलाई बाबुको शव बोक्नसमेत नदिएको पीडित दीपकले जानकारी दिनुभयो । दीपकले सात वर्षघि हीरासँग प्रेमविवाह गरेका थिए । उनका एक छोरा र एक छोरीसमेत छन् । शव बोक्न नदिए पनि दर्ुइ दिनसम्म किरियामा बस्न दिएपछि दलित बिहे गरेर आफ्नो जातको इज्जत फालेको भन्दै आफूलाई किरिया गर्नबाट वञ्चित गराएको दीपकले जानकारी दिनुभएको छ । काठमाडौँ-रामेछाप चल्ने बसमा चालकको काम गर्ने दीपक बाबु बितेको थाहा पाएपछि गाउँमा गएका थिए । कानुनी रूपमा जातीय विभेद हटेको भए पनि आफूलाई भने दलितसँग विवाह गरेको कारण देखाउँदै बाबुको किरिया गर्नबाट वञ्चित गराएको भन्दै दीपकले बिहीबार जिल्ला प्रहरी कार्यालयमा दोषीलाई कारबाही गर्न माग गर्दै उजुरी दर्ता गराएका छन् । उजुरीमा जातीय विभेदको कुरा गरेर जन्म दिने बाबुको किरिया गर्नबाट वञ्चित गराउने काकासहित चारजनालाई मुलुकी ऐनको १० -क) अनुसार कारबाही गर्न खड्काले माग गर्नुभएको छ । मुलुकी ऐनअनुसार जातीय विभेद गर्नेलाई तीन महिनादेखि तीन वर्षम्म कैद वा पाँच हजारदेखि पच्चीस हजारसम्म जरिवाना हुने व्यवस्था रहेको कानुन व्यवसायी रमेश हुमागाईंले जानकारी दिनुभयो । प्रहरीले मुद्दा दर्ता भएपछि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिएको छ ।

Source: www.gorkhapatra.org.np/gopa.php[ 2064-2-18 ]