दलितको पानी मुहान बन्द

डीआर पन्त
डडेल्धुरा, जेठ ६ – योजना निर्माणको सामान्य विवादलाई मुद्दा बनाई कथित माथिल्लो जातकाले तीन दलित बस्तीको पानी मुहान बन्द गरेका छन् ।३१ वर्षदेखि कोटेली गाविसका पाँचवटा वार्डवासीले उपभोग गर्दै आएको खानेपानी योजना निर्माणको सामान्य विवादले मुहान बन्द गरिएपछि बस्ती पानीविहीन भएका हुन् ।
 दुई सय परिवार दलित रहेको ती बस्तीमा यसभन्दा अघि पनि पटकपटक गैरदलितले धारा काटिदिने र मुहान थुनिदिने गर्दै आएको स्थानीय दलित अगुवा मानसिंह भुल बताउँछन् ।
‘कहिले दलितका धारा काटिए, कहिले पानीका मुहान नै बन्द गरिए,’ स्थानीय दलित अगुवा भुल गुनासो गर्छन््- ‘न्यायका लागि प्रशासन सदैव मूकदर्शक भयो ।’
योजनाको टंंकी निर्माण गर्न सामुदायिक खानेपानी कार्यक्रमले २१ ल्ााख बजेट बिनियोजित गरेपछि पानीको मुहान भएको वडा नं ७ का बासिन्दाले मुहान नै बन्द गरेका हुन् । पीडित दुई सय परिवारले प्रशासनमा निवेदन दिएका छन् । खानेपानी समितिका सचिव यज्ञबहादुर साउद भन्छन्- ‘अधिकांश दलित बस्ती सामाजिक अवस्थाले हेपिएका र खानेपानीे समस्याले दलित बस्तीको अवस्था दयनीय भएको छ ।’
‘योजना सञ्चालन भएपछि पुराना पानीका मुहान या त सुकिसके या त उपल्लो जातिको कब्जामा मात्र छन् ।’  स्थानीय राज भुल भन्छन्- ‘दलितले पानी पनि मागेर खानुपर्ने अवस्था सिर्जना भएको छ ।’
प्रमुख जिल्ला अधिकारी पशुपति नाथ शर्माले  बिबादित योजनाका उपभोक्तालाई प्रशासनमा बोलाइएको जानकारी दिदै चाँडै समस्याको समाधान हुने बताए ।
Source: http://www.ekantipur.com[2007-05-20]