छुवाछूतविरुद्ध साइकलयात्रा

धरान, वैशाख ३१ – जातीय छुवाछूत अन्त्यका लागि पाँच दिनदेखि जारी साझा आँगन साइकल यात्रा सोमबार सकिएको छ । सुनसरीको पाँचकन्या गाविसको स्कुलडाँडाबाट सुरु भएको यात्रा इटहरी पुगेर सकिएको हो । यात्रामा ६ युवतीसहित ६० दलित युवा सहभागी थिए ।
स्थानीय निकायमा समान हिस्सेदारी, छुवाछूत गर्नेलाई कडा दण्ड, ग्रामीण दलितलाई समानुपतिक प्रतिनिधित्वलगायतका मागसहित यात्रा आयोजना गरिएको हो ।
साइकल यात्रीहरू सुनसरीका तीन नगरपालिका र २४ गाविस पुगेर दलितको आर्थिक, सामाजिक, राजनीतिक समावेशीका विषयलाई स्थानीय निकाय र सम्बद्ध पक्षसँग छलफल गरेका थिए । उनीहरूले राज्यले गाउँ विकास समितिलाई प्रदान गर्ने १० लाखमध्ये पाँच प्रतिशत दलितका नाममा छुट्याउने घोषणा गरिए पनि उक्त रकम लक्षित समुदायसम्म पुग्न नसकेको बताएका छन् ।
सहरी क्षेत्रमा दलित र गैरदलितबीच छुवाछूत र विभेद कम भए पनि गाउँमा अझै कथित उच्च जातकाले घरमा पस्न नदिने, छोएको पानी प्रयोग नगर्ने, अन्तरजातीय विवाह गरे अस्वीकार गर्नेजस्ता दुव्र्यवहार विद्यमान रहेकाले यसविरुद्ध चेतना जगाउन यात्राको आयोजना गरिएको यात्राका संयोजक दलित नेटवर्क सुनसरीका सचिव विनोद विकले बताए ।

Source: www.ekantipur.com