अस्पतालमा पनि विभेद

विजुवा प्युठानः हुनेखानेले त महँगा अस्पतालमा गएर उपचार गराउन सक्छन् तर विपन्नलाई भने सरकारी अस्पतालमा पनि भेदभाव । त्यो पनि ओढ्ने कम्बल र औषधि वितरणमा ।
गुल्मी जिल्लाको अग्लुङ ९ का ६८ बर्षीय इन्द्रे विक बुधबार देखि प्युठान जिल्ला अस्पतालको ६ नम्बर शइयामा भर्ना हुनु भएको छ । 
अस्पतालले दिएको च्यातिएको कम्बल ओढेर शइयामा पल्टिरहेका विकले भन्नु भयोः जाडो भइरहेकेा थियो जे पाइयो त्यही ओडियो ।
जातीय समता समाजका केन्द्रीय सचिव सूर्य विश्वकर्माले भन्नुभयोः अस्पतालमा त दलित गरिबलाई यस्तो व्यवहार हुन्छ भने अन्यत्र कस्तो होला अस्पतालमा अति गरिबलाई निःशुल्क उपचार गर्ने नेपाल सरकारको नीति सर्वाजनिक भएको चार महिना पुगेको छ तर इन्दे्र विकले त्यो सुविधा पाउनु भएको छैन । उहाँले ऋणधन गरेर चार सय रुपैयाँजतिको औषधि किनेको समाजका केन्द्रीय सचिव विकले बताउनु भयो ।
माझकोट गाविसका पूर्वअध्यक्ष अमर भण्डारीले इन्द्रे विकको अवस्था देखिपछि भन्नुभयोः अन्य सबै बिरामीलाई राम्रो कम्बल दिइएको छ तर उहाँलाई मात्र च्यातिएर धुजाधुजा भएको कम्बल दिइएको छ । यस्तो व्यवहार राम्रो होइन
अस्पतालका डा प्रकाश आचार्यले भेदभाव गरेको नभई संयोगवस ती विरामीलाई त्यस्तो कम्बल परेको बताउनु भयो । विरामीको तस्बिर खिच्दै गरेकेा देखेपछि आचार्यले बिरामीलाई भड्काउन खोजेकेा भन्दै आक्रोस पोख्नु भयो । उहाँले निकै रुखो बोलीमा भन्नु भयोः म डा प्रकाश आचार्य हुँ लेख्नुस् पत्रिकामा ।

साभर: अन्नपूर्ण पोस्ट दैनिका, १६ बैशाख २०६३