भाँडा नमाझेको निहुँमा दलितमाथि कुटपिट

जेबी बिश्वकर्मा
२१ फागुन, काठमाडौं ।
भक्तपुरको चाँगुनारायणका ६ जना दलितहरु होटलमा भाँडा नमाझेका कारण पिटिएका छन् । गत फागुन १९ गते स्थानीय रामप्रसाद श्रेष्ठको होटलमा नास्ता खाएर निस्कन खोज्दा भाँडा नमाझेको भन्दै उनीहरुमाथि होटेल मालिक र स्थानीयबासीले कुटपिट गरेका थिए ।  होटेल मालिक र स्थानीबासीको कुटाईबाट मीनबाहादुर बोगटी रामराज मंग्राती धर्मराज मिजार रविन मंग्राती लोकेन्द्र बोगटी र श्याम मग्राती सख्त घाइते भएका छन । होटल संाचालक श्रेष्टले दलित भएकाले भन्दै भाँडा माझ्न कर गरेका थिए । तर पैसा तिरेपछि हामी भाँडा माझ्दैनौ भन्दै भाँडा माझ्न इन्कार गरेपछि उक्त घटना भएको थियो । “हामीले पैसा तिरेर पनि भाँडा माझ्नु पर्ने” भन्दै भाँडा माझ्न इन्कार गरेपछि आफुमाथि एकाएक आक्रमण भएको पीडितहरुले बताए । घटनालगत्तै साँखु प्रहरी चौकीका इन्चार्ज दिलिपकुमार गुरुङको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोलीले पीडित युवाहरुलाई नै पक्राउ गरी “तिमीहरु नै होइनौ हुलदंगा गर्ने” भन्दै प्रहरी कार्यालयमा लगेर कुटपिट गरेका थिए । पीडित धर्मनाथ मिझारले भने-“हामीले न्याय माग्दै प्रहरीलाई खबर गरेका थियौं । तर उल्टै प्रहरीले हामीलाई प्रहरी कार्यालयमा नै लगेर यातना दियो ।”
फागुन २० गतेदेखि जिल्ला प्रहरी कार्यालय भक्तपुरले उक्त घटनाको छानबिन गरिरहेको छ । आज २१ गते पनि पीडकलाई कारबाही गराउनको लागि छलफल जारी रहेको छ । पीडित दलित समुदायका युवाहरुलाई न्याय दिलाउन दलित मुक्ति मोर्चा जागरण मिडिया सेन्टर दलित सेवा संघ दलित गैरसरकारी संस्था महासंघ नेपाल इन्सेक र संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चआयोगलगायतका प्रतिनिधिहरु र पत्रकारहरु जिल्ला प्रहरी कार्यालयमा पुगेका छन् । दलितहरुको दबाबपछि पीडकमाथि कारबाही गरिने जिल्ला प्रहरी कार्यालय भक्तपुरले बताएको छ । तर छलफल अझैं पनि टुङ्गोमा पुगिसकेको भने छैन । स्मरण रहोस् केही दिन पहिले पनि स्थानीय एक दलितलाई सोही पसलेले भाँडा नमाझेकै आरोपमा दुर्व्यवहार गरेको थाह भएको छ ।