दलितले छात्रवृत्ति पाएनन्

प्रकाश बराल

पर्वत, फागुन ७ – सरकारले दिंदै आएको दलित विद्यार्थीको छात्रवृत्ति यहाँको एक विद्यालयका दलित विद्यार्थीले पाएका छैनन् । पाङ गाविसको गोविन्दनाथ देवशर्मा माविका दर्जनौं दलित विद्यार्थी उक्त छात्रवृत्तिबाट वञ्चित भएका छन् ।

सरकारले दलित विद्यार्थीका लागि छात्रवृत्ति र पाठ्य सामग्रीका लागि थप रकमसमेत दिने व्यवस्था गरे पनि यो विद्यालयका १ सय १३ विद्यार्थी भने उक्त सहयोगबाट वञ्चित भएका हुन् । विद्यालयमा पढ्ने १ सय ४६ दलित विद्यार्थीमध्ये ३३ जनाले मात्र सरकारको छात्रवृत्ति पाउन सकेका छन् । छात्रवृत्ति पाउनेमध्ये कक्षा १ देखि ५ सम्मका मात्र छन् । कक्षा ६ देखि माथिका विद्यार्थीले छात्रवृत्ति पाउन नसकेको गुनासो प्रधानाध्यापक श्यामप्रसाद पौडेलले गरे ।

पाङ-७ ततरकोटमा सबै बासिन्दा दलितमात्र भएकाले विद्यालयमा पनि दलित विद्यार्थी नै धेरै पढ्छन् । शिक्षक ओमप्रसाद चापागाइर्ँले गुनासो गर्दै भने- ‘हाम्रा विद्यार्थी सरकारको न्यूनतम अधिकारबाटै वञ्चित भएका छन् ।’ विद्यालयको तथ्यांकअनुसार कक्षा १ देखि ५ सम्म ७९ र कक्षा ६ देखिमाथि ६७ जना दलित विद्यार्थीको नाम दर्ता छ ।’ बिहान खाए बेलुकी खान नपुग्ने अधिकांश मजदुरका छोराछोरी नै विद्यालय आउँछन् । उनीहरूलाई कुनै राहत आएन,’ चापागाईँले भने ।

 श्रोत: कान्तिपुर दैनिक [2007-02-19]