मधेसी, दलित, आदिवासी, जनजाति, महिला, पिछडिएको क्षेत्र र वर्गलाई सबै क्षेत्रमा सहभागी गराईने

प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठ:-

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,
विगत केही दिनयता मधेसका जनताले आन्दोलनमार्फ उठाएका विभिन्न मागहरूका सम्बन्धमा आठ राजनीतिक दल तथा सरकारको ध्यान आकृष्ट भएको छ। 

आठ राजनीतिक दलको सहमतिमा मधेसको आन्दोलनका क्रममा उठाइएका जायज मागहरू पूरा गर्न सरकार प्रतिबद्ध छ।

संविधानसभाको निर्वाचन आगामी २०६४ जेठमा गर्ने हामी सबैको साझा संकल्प हो। यसका लागि समान जनसंख्या र भौगालिक अनुकूलता तथा विशिष्टताका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिनेछ। मधेसको जनसंख्या प्रतिशतका आधारमा निर्वाचन क्षेत्र बढाइनेछ। साथै त्यत्ति नै संख्यामा समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधित्व हुने संख्या पनि बढाइनेछ।

यसै गरी संघीय लोकतान्त्रिक राज्य प्रणाली निर्माण गरी शासन प्रणालीमा मधेसी, दलित, आदिवासी, जनजाति, महिला, पिछडिएको क्षेत्र र वर्ग लगायत सबै जनताको सहभागिता गराइनेछ। संघीय राज्य प्रणाली र निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी विषयहरू अविलम्ब अन्तरिम संविधानमा संशोधन गरी आवश्यक व्यवस्था मिलाइनेछ।

मुलुकको राज्य संरचनाका सबै अंगमा मधेसी, दलित, आदिवासी जनजाति, महिला, मजदुर, किसान, पिछडिएका वर्ग र क्षेत्र सबैलाई समानुपातिक समावेशीका आधारमा सहभागी गराइनेछ। नागरिकता प्रमाणपत्र वितरणको कार्य पूरा गरिनेछ। यसका लागि सबै राजनीतिक दल, नागरिक समाज एवम् सम्पूर्ण जनसमुदायबाट सहयोगको अपेक्षा गर्दछु।

मधेसी जनताले विगतका सबै जनआन्दोलनमा सक्रिय एवम् गौरवपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। अहिले पनि आफ्ना मागसहित आन्दोलनरत मधेसी जनताको भावनाको म सम्मान गर्दछु।

अहिलेको आन्दोलनका क्रममा शाहदत प्राप्त गर्नुभएका नागरिक र सुरक्षाकर्मीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

साथै आगजनी, तोडफोड, लुटपाटजस्ता हिंसात्मक घटनाहरूप्रति गहिरो दुःख व्यक्त गर्दछु। घाइतेको समुचित उपचारको व्यवस्था मिलाउनका साथै जिउधनको नोक्सानी र क्षति भएका परिवारलाई उचित राहत, सहयोगको व्यवस्था सरकारले मिलाउनेछ।

अन्त्यमा सबै आन्दोलनरत पक्षसँग आन्दोलन फिर्ता लिन अपिल गर्दछु तथा शान्तिपूर्ण वातावरणमा वार्ता र संवादको माध्यमबाट आ-आफ्ना माग एवम् समस्याको समाधान खोज्न म अनुरोध गर्दछु।

मुलुकमा परम्परादेखि चलिआएको सामाजिक सदभाव, सहिष्णुता र मेलमिलाप कायम राखी लोकतन्त्रको संस्थागत स्थायित्वका निमित्त शान्तिपूर्ण वातावरणमा संविधानसभाको निर्वाचनको अभियानमा सहभागी हुन सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीलाई हार्दिक अपिल गर्दछु।

गिरिजाप्रसाद कोइराला
प्रधानमन्त्री
मितिः २०६३, माघ २४