विद्यालयलाई सहयोग गर्ने दलित बने सभानायक

पर्वत, पुस २४ – सामान्य काम गरेर जीवन बिताइरहेका यहाँका एक दलित परिवारले विद्यालयलाईर् सबैभन्दा बढी रकम दिएकाले सभानायक बनाइएको छ ।
हिमालय उच्च माविको शैक्षिक र भौतिक सुधारका लागि सञ्चालन गरिएको विश्व शान्ति धान्याचल ज्ञान महायज्ञमा २५ हजार सहयोग गरेर खुर्कोट-२ का भीमबहादुर विक सभानायक भएका हुन् ।
उनी पहिलो दिनको कार्यक्रममा ठूलो रकम सहयोग गर्ने दातासमेत बने ।
लामो समयदेखि सयौ विद्यार्थीले विद्यालय शिक्षा पूरा गरेपछि उच्च शिक्षा पढ्न राजनधानीलगायतका सहरी क्षेत्रमा जानुपरेपछि स्थानीय अभिभावकको सक्रियतामा यज्ञ भएको हो ।
सोमबार औपचारिक रूपमा सुरु गरिएको महायज्ञको उद्घाटन प्रतिनिधिसभाका सांसद अर्जुनप्रसाद जोशीले गरेका थिए ।
यज्ञमा वाचन शिरोमणि स्व। नारायाणप्रसाद पोखरेलका पुत्र दीनबन्धु पोखरेलले मंगलबार महापुराण वाचन गर्नेछन् ।
‘यो सहयोग गरेर म खुसी भएको छु,’ विकले भने- ‘सकेँ भने अझै धेरै सहयोग गर्ने धोको छ । आर्थिक रूपमा मात्र नभएर श्रम र अन्य क्षेत्रबाट सहयोग गर्न धेरै अभिभावकहरूले खोजेका छन् ।
भौतिक कक्षाको अभाव र शैक्षिक गुणस्तरसमेत चाहे जति बनाउन नसकेपछि यज्ञको आयोजना गरिएको हो, विद्यालयका प्रअ द्रोणराज उपाध्यायले बताए ।
श्रोत : चितवन डट कम