छुवाछूत र भेदभाव मुक्त राष्ट्र घोषणाको ठाडो उल्लंघन

सरकारको खुकुलोपन

प्रतिनिधिसभाले २०६३ जेठ २१ गते आइतबार नेपाललाई छुवाछूत र भेदभाव मुक्त राष्ट्र घोषणा गरेको थियो । प्रतिनिधिसभाले छुवाछूत घोषणा गरेको झण्डै ८ महिना पछि बाग्लुंग जिल्लाको सदरमुकाममा जातिय छुवाछूतको घटना घटेको छ ।

बाग्लुंग नगरपालिका ८ लहरेपिपल घर भई महेन्द्र क्याम्पसमा बिए दोस्रो वर्षमा अध्ययनरत २५ वर्षिय रोमादेवी किसान (सार्की)लाई पौष १४ गते बाग्लुंग नगरपालिका २ अस्पतालरोडका भक्तबहादुर खड्का क्षेत्री र उनकी श्रीमतिले जात थाहा पाएपछि अपशब्द प्रयोग गर्दै जबर्जस्ती कोठाबाट निकालिदिएका छन् ।

यस घटनाको बारेमा दरखास्त दर्ता गर्न बाग्लुंग जिल्ला प्रहरी कार्यालयमा जादा दरखास्त दर्ता गर्न नमानिरहेको दलित सशक्तिकरण केन्द्रका अध्यक्ष यमबहादुर चर्मकार बताउनु हुन्छ । यसरी प्रतिनिधिसभाले नेपाललाई छुवाछूत र भेदभाव मुक्त राष्ट्र घोषणा गरेकोलाई गाईजात्राको संज्ञा दिदा पनि फरक नपर्ने देखिन्छ । किन कि प्रतिनिधिसभाले नेपाललाई छुवाछूत र भेदभाव मुक्त राष्ट्र घोषणा गरेको अवस्थामा पनि जिल्ला प्रहरीले छुवाछूतको घटनालाई सहज रुपमा लिन नसक्नु के सरकारको खुकुलोपन होईन र ?