दलितसँग छोरीले बिहे गरेको भन्दै बाबु-आमालाई बहिष्कार

टीका भट्ट

मन्थली, पुस १४ – छोरीले दलितसँग बिहे गरेको निहुँमा भलुवाजोरका एक दम्पतीलाई गाउँलेले डेढ वर्षदेखि पानी बाहेक गरी राखेका छन् ।

भलुवाजोर-६ जामुनाबोटका तेजबहादुर तामाङ र उनकी पत्नी शान्ता तामाङलाई गाउँले मात्र होइन उनीहरूकै भाइले पनि पानी चलाएका छैनन् । ‘हाम्री छोरीले बुद्धी बिगारी भनेर हामीलाई समाजले गरेको अपमान सहन नसकेर यहाँ आएका छौं,’ बुधबार न्यायका लागि जिल्ला प्रहरी कार्यालयमा आएका दम्पतीले गुनासो गरे ।

२०६२ साउनमा छोरी शर्मिला रामेछाप गाविस-१ डुम्रीबोटका दीपक सार्कीसँग बिहे गरेपछि गाउँले जम्मा भएर तामाङ दम्पतीलाई बाहेक गरेका हुन् । डेढ वर्षदेखि गाउँका मानिस आवत-जावत नगर्ने र पानीसमेत नचल्ने पीडा खपेर बसेका उनीहरूले बल्ल समाजमा चल्न पाउनुपर्ने माग गरेका हुन् । तर समाजले उनलाई गाउँमा मिल्न दिएन । ‘मावली र पुरोहितले हुन्छ नभनेसम्म मिल्न तयार छैनौं,’ मंगलबार गाउँमा भएको भेलाले यही निर्णय गरेपछि बुधबार डेढ घन्टाको बाटो हिँडेर उनीहरू पुरोहित र मावलीका भाइसमेत साथमा लिएर जिल्ला प्रहरी कार्यालयमा आएका हुन् ।

जिल्ला प्रहरी कार्यालयमा आएका भाइ जहारसिं तामाङले गाउँलेले नभनेसम्म आफ्ना तर्फबाट मिलाउनेमा कुनै निर्णय नहुने जनाएका छन् ।

‘आज मैले चलाउने भनेर जाउँला भोलि मेरा गाउँलेले मलाई पनि बाहेक गर्छन्, मैले कसरी मिलाउने ?’ उनले प्रहरी कार्यालयमा भने । ‘मेरो गाउँका मानिसले तँलाई केही समस्या पर्दैन भन्छन् भने मेरो सहमति हुन्छ,’ उनले भने । जहारसिंको गाउँ जमुनाबोटभन्दा केही पूर्व सल्लेमा रहेको छ । तामाङ समुदायमा गाउँ जत्तिकै मावली र पुरोहितलाई मान्ने चलन रहेको छ ।

गाउँलेले तामाङ दम्पतीलाई अरूको घरमा पस्न दिएका छैनन् । गाउँमा भएको पँधेरामा पानी लिन जाँदासम्म अरूले भरेपछि मात्र उनको पालो आउने गरेको छ । चाडबाड र मानिस मर्दा उनलाई चलाइएको छैन । गाउँलेसँगै लागेर उनकै भाइले पनि दाजु-भाउजूलाई चलाउनु नहुनेमा वकालत गरिरहेका छन् ।

गाउँले यसरी काढेका परिवारले आफ्नै छोरीलाई भने दलितसँग पोइल गएको भन्दै घरभित्र पस्न दिएका छैनन् । ‘छोरी एक दुईपल्ट माइत आई मैले बाहिरै खाना ख्वाएर पठाएँ’ आमा शान्ताले भनिन् । सर्किनी भइसकेकी छोरीलाई कसरी भित्र लानु ? उनी भन्दै थिइन् । गाउँलेले पनि शान्ताले छोरीलाई बाहिरै ख्वाएको देखेको बताएका छन् ।

दलितलाई कानुनले समानरूपमा चलाउन व्यवस्था गरेको स्मरण गराउँदै झगडा मिलाउन प्रयत्न गर्ने जिल्ला प्रहरी प्रमुख शिवहरि बाँस्कोटालाई गाउँलेले भनेका थिए कानुन एकातिर छ तर हाम्रो समाजले नभनेसम्म हामी चलाउँदैनौं ।

उनीहरूको समस्या समाधान गर्न आउँदो शनिबार गाउँमा भेलाको आयोजना गरिने जनाइएको छ । त्यसमा प्रहरीसमेत सहभागी हुने जनाइएको छ ।

श्रोत : ईकान्तिपुर डट कम