बालीघरे प्रथाले गरिब झन झन् गरिब

 इन्दिरा आचार्य,  अर्घाखाँची। जेठा सावतका खुट्टा पट्पटी फुटेका छन्। जीवनमा उनले कहिल्यै चप्पल लगाएनन्। उनको खुट्टाले जुकाको टोकाइ, सानोतिनो काँडाको घोचाइ, तुसारोको चिसो थाहै पाउँदैन।

उनको पैताला जुत्ताको तलुवासरह बनिसक्यो। उनी अर्घाखाँची जिल्ला, मरे पुछारका हुन्। हलो जोत्न थालेको ८० वर्षपछि पनि आज उनले पहाडको उकाली-ओरालीमा ह..बा..ह.. भन्दै गोरुको पुच्छर निमोठ्न छाडेका छैनन्। अर्घाखाँचीलगायतका वरपरका जिल्लामा वर्षौभरि परेका बेलामा साहुको जग्गा जोत्ने मानिसलाई बालीघरे हलिया भनिन्छ।

सामान्यतयाः जग्गा जोताउने बाहुन हुन्छन्। उनीहरू आफूले आफनो जमिन जोत्दैनन्। जोत्नेमा प्रायशः जेठा सावतजस्ता दलित हुन्छन्। हलो जोत्नेबाहेक कामीले फलामका सामान बनाउने र मर्मतसम्भार गर्ने अनि दमाईले लुगा सिउने काम पनि वर्षभरिमा बालीघरेले गर्ने काम हुन्। महँगी हवात्तै बढे पनि बालीघरेको ज्याला भने बढेको छैन। साहुको घरमा वर्षभरि यस्ता काम गरेबापत उनीहरूले वर्षमा १९ पाथी मकै ज्यालाबापत पाउँछन्। यति अन्नलाई छ सय रुपियाँ जति पर्छ।

यसबाहेक उनीहरूले जोतेको दिन एक माना अन्न पाउँछन्। साहुकहाँ पूजाआजा, विवाह, व्रतबन्धमा उनीहरूले आफनो भाग खोज्ने चलन छ। काम गर्ने घरका छोरीको बिहे हुँदा उनीहरूलाई दाइजोस्वरूप ठड्यौरो -पन्यू र डाडु जोडिएको भाँडो) दिने गर्छन्।

यिनीहरूलाई आफनो श्रमअनुसारको ज्याला नपाएको कुरा थाहा छ। तर पनि उनीहरू यो पेसा छाड्न सक्दैनन्। मरेँककै किराँती विक भन्छन्- ँहामीले यो पेसालाई छाड्यौँ भने त पुर्खाले सराप्छन्। त्यसैले उनले आफना तीन नातिलाई पनि आरनकै काममा लगाएका छन्। बालीघरेले साहुको काम सकिदिनका लागि बालबालिका र श्रीमतीलाई समेत काममा सँगै लिएर जान्छन्। तर ज्याला भने बढी पाउँदैनन्, उत्ति नै पाउँछन्। किराँती भन्छन्- ‘मैले साहुको काम सकिदिनका लागि श्रीमती र छोरा नातिलाई पनि काममा खटाउनुपर्छ। तर ज्याला भने म एक्लैले गरेजति मात्र पाउँछु।’ बालीघरे प्रथा भएकाले गाउँमा महिला र बालबालिकाको श्रम शोषणसमेत भइरहेको छ। धेरैजसो बालीघरेले श्रमशोषण भएको समेत हेक्का राख्दैनन्। यदाकदा श्रमको मूल्य मागिहाले भने पनि पाउँदैनन्। पाइहाले भने फाटेका जडाउरी (साहुले लगाएर छाडेका पुराना कपडा) मात्र पाउँछन्।

यति हुँदाहुँदै पनि उनीहरू यो पेसा छाड्न भने सक्दैनन्। यो पेसा छाड्यो भने यति आम्दानी पनि गुम्ला भन्ने डर दलितलाई छ। त्यसैले जेठा सावतले १२ वर्षा प्रदीप नेपालीलाई साहुको हलो जोत्न लगाएका छन्। प्रदीप भन्छन्- ‘यो पेसा छाड्यो भने त बिहान-साँझ खाने गास पनि बन्द हुन्छ। गाउँमा काम लगाउने कम र काम गर्ने बढी भएकाले उनीहरू मोलतोल गर्न सक्दैनन्। त्यसैले उनीहरू बूढो भइन्जेल मरेर काम गर्दा पनि गरिबका गरिब नै हुन्छन्। ९० वर्षको उमेर पुगिसक्दा पनि डिमबहादुरले बाँसको चोयाका डोका, नाङ्ला र मान्द्रा बुन्ने कामबाट फुर्सद पाएका छैनन्। यसरी मरेर काम गर्दा पनि उनीहरूले सम्मान पाउँदैनन्। बालीमा काम गर्ने दलितले बाहुनलाई विष्ट वा बराजु भनी बोलाउने गर्छन्। अर्कातिर दलितलाई भने बाहुनले टोटा (टमोटालाई बिगारेर भनिने), चित्रे, आर्ने भनेर होच्याउँछन्। यस्तो अपमानले गर्दा केही युवाले यो काम गर्न छाडेका छन्। डिमबहादुरका छोरा शिवले यो काम नगर्ने भएका छन्। दलित जागरण अभियानका गोपाल विक भन्छन्- ‘बाहुनले दलितलाई हेप्ने भएकाले यस्तो भएको हो।’ हुन त केही परिवारले विशेषगरी बालीघरे हलीलाई वर्षो १९ पाथी अन्नसँगै कहिलेकाहीँ भैँसीको पाडो दिने चलन छ। स्थानीय साहु धनिराम भन्छन्- ‘उनीहरूलाई मासु खानका लागि हतुवा भैँसीको पाडो दिइन्छ र वर्षो १९ पाथी मकै पनि दिइन्छ।’ केही शिक्षित युवा केही समययता आएर यस्ता पुख्र्यौली पेसालाई विशिष्टीकरण गर्नेतर्फलागेका छन्। गोपाल दमाईले मरेङ बजारमा टेलरिङ सेन्टर राखेका छन्। उनले दिनमा सय रुपियाँसम्म कमाउँछन्। बाबुबाजेले गर्दैआएको पेसा गरे पनि बालीघरेझैँ थोरै ज्याला लिएर ठगिनु नपरेको उनको अनुभव छैन।

स्थानीय जमिनदार बेदुराम बन्जाडे भने वर्षमा ८-१० दिन जोतेर १९ पाथी मकै पाउनु बालीघरेका लागि निकै राम्रो आम्दानी भएको दाबी गर्छन्। उनले आफनै घरमा जोत्ने बेलबहादुर नेपालीलाई करिब १२-१३ वर्षदेखि दिँदैआएको अन्न बाली वृद्धि गराएका छैनन्। किन त ज्याला नबढाएको ? बन्जाडे पुरानो चिन्तन दोहोर्याउँदै भन्छन्- ‘मेरो जग्गामा उब्जनी उत्ति हो, बढेको छैन। कसरी म ज्याला बढाइदिउँ ?’ बेलबहादुरलाई भने साहुले आफूलाई दिँदैआएको बाली बढाउनुपर्ने हो जस्तो लाग्न थालेको छ। तर पनि साहुलाई यो कुरा भन्न सकेका छैनन्। ‘कि त चार/छ पाथी अन्न बढाइदिएहुन्थ्यो कि त दुइ-चार सय पैसा दिए पनि हुन्थ्यो’ उनले भने। त्यसो त कतिपय बालीघरे दलित अहिले केही सचेत हुन थालेका छन्। केही समयअघि स्थानीय एक आचार्यका घरमा जोत्दैआएका गोपाल नेपाली र उनीहरूबीच झगडा भयो। गोपाललाई २० वर्षदेखि जोत्दैआएको घरमा अहिलेसम्म आफनो बाली र पारिश्रमिक नबढाएका कारण रिस उठेको छ। उनले भने, ‘२० वर्षदेखि जोत्दैआएको छु। घरमा २-३ जना कमाउने मान्छे छन्। तर मैले पाउने जत्तिको त्यत्ति ?’ तर बुद्धिजीवी राजेन्द्रकुमार आचार्यको भनाइ भने यस्तो छ, ‘बालीघरे प्रथा तुरुन्त उन्मूलन भइहाल्ने अवस्था छैन। यसका लागि रोजगारीका वैकल्पिक अवसर सिर्जना गर्नुपर्छ। त्यसो नभएसम्म प्रदीप नेपालीलगायत मरेङका सबै बालीघरेको अवस्था जेठा सावतको जस्तै बन्न सक्छ।’ अर्कोतर्फ पीडितको पक्षमा काम गर्ने भनेर खुलेका सरकारी तथा गैरसरकारी संस्थाका कार्यालय सहरमा मात्र केन्द्रित छन्। तर वर्षौंदेखि परम्पराका नाममा दमनमा पर्दै आएका मरेङका दलितका लागि कुनै पनि सङ्घ-संस्थाले आवाज उठाइदिएको छैन। न त त्यहाँका दलित सङ्गठित भएका छन् न त आफनो परिवारको जोहो टार्न २-४ पाथी अन्न कमाउने यो प्रथा छाड्न नै सकेका छन्। त्यसो त कतिपय व्यक्तिका लागि त यो पेसा पार्ट टाइम जागिर जस्तै बनेको छ। दिनभरि सिकर्मीको काम गर्ने सेते नेपाली भन्दछन्, ‘वर्षमा ५-७ पटक जोते पुगिहाल्छ दिनभरि आफनो काम गर्यो, बिहान-साँझ जोत्यो, २-४ पाथी अन्न आइहाल्छ।’ केही व्यक्तिका लागि यो प्रथाबाट राम्रै फाइदा भए पनि धेरै चाहिँ शोषण, दमनमा पर्दैआएका छन्।

हुनत २००७ सालदेखि नै ‘जसको जोत उसको पोत’ भन्नेजस्ता नारा उठाइँदै आएका हुन्। तर यी नारा राजनीतिक सङ्गठन र अन्य संस्थाले सस्तो लोकप्रियताका नाममा उठाउने गरेका त होइनन् ? भन्ने प्रश्न मात्र उठ्ने गरेको छ। ट्रेड युनियन महासङ्घ लुम्बिनी-राप्ती अध्यक्ष कमल गौतम कुनै पनि प्रथाका नाममा कामदारलाई कसैले पनि शोषण-दमन गर्न नपाइने बताउँछन्। काम गरेपछि कानुनअनुसार श्रमको ज्याला पाउनुपर्ने उनको तर्क छ। त्यसका लागि ट्रेड युनियन महासङ्घले गाउँगाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उनले जानकारी गराए। श्रम कार्यालय रूपन्देहीका प्रमुख घनश्याम न्यौपाने सामाजिक प्रचलनका रूपमा रहेका यस्ता प्रथाबारे कानुनमा कहीँ पनि उल्लेख नरहेको बताउँछन्। कानुनमा उल्लेख नभएकाले श्रम कार्यालयले यो क्षेत्रमा काम नगर्ने उनले दाबी गरे।

सञ्चारिका समूह

श्रोत : http://mahanagardaily.com