होटल जाँदा भाँडाकुँडा आफ्नै

रमेशचन्द्र अधिकारी

उदयपुर, कार्तिक १० – होटलमा चियानास्ता खान जाँदा भाँडाकुँडा बोक्नुपर्ने ! अचम्म लाग्दो चलन । त्यतिमात्र होइन, यहाँ त ‘दलित’ भनेर होटलभित्रै छिर्नै दिइँदैन । आफूले बोकेको भाँडामा बाहिरै खानेकुरा थाप्नुपर्छ र बाहिरै बसेर खानुपर्छ ।

‘होटलवालाले आपmना भाँडामा खानेकुरा दिँदैदिँदैनन्,’ सदरमुकामस्थित डियम चोकका राजकुमार राम भन्छन्- ‘त्यसैले आफूलाई चाहिने भाँडाकुँडा बोकेरै हिँड्छौं ।’ उनीमात्र होइन, यहाँ सबै दलितको नियति यस्तै छ ।

दलितले छोएको भाँडामा ‘माथिल्लो जात’ काले नखाने र होटल नै बहिष्कार गर्ने परिपाटीले दलितलाई ‘छूत’ को व्यवहार गर्नुपरेको व्यवसायीहरू बताउँछन् । ‘दलितहरू होटलभित्र छिरे ठूला जातकाहरू सधैंका लागि भडकिन्छन्,’ स्थानीय होटल व्यवसायी उपेन्द्र साह भन्छन्- ‘त्यसैले उनीहरूलाई अलग्गै राख्छौं ।’

होटल व्यवसायीहरूले विशेष गरेर मरिक, राम र डुम जातिमाथि यस्तो व्यवहार गर्ने गरेका छन् । यो चलन नयाँ भने होइन, थाहा पाएदेखि यस्तै भेदभाव हुँदै आएको व्यवसायी बताउँछन् ।

केही होटल व्यवसायीहरू दलितका लागि भनेर छुट्टै व्यवस्था गरेको दाबीसमेत गर्छन् । ‘दलितहरूका लागि चम्चा, प्लेट र गिलास छुट्टै राखेको छु,’ स्थानीय व्यवसायी छेदी साहको भनाइ छ- ‘ती सामान अरू भाँडामा मिसाउँदिन ।’

होटलवालाहरूले जे-जस्तो स्पष्टीकरण दिए पनि आफूहरूमाथि तल्लो व्यवहार गरिने दलित समुदायको दुखेसो छ । होटलवाला र माथिल्लो जातकाको व्यवहारले निक्कै दुःखी बनाएको उनीहरू बताउँछन् ।

‘मान्छेभन्दा तल्लो श्रेणीमा हेरिन्छ,’ सीता रामले भनिन्-  हाम्रो अनुहार हेर्दा पनि अपशकुन परेको ठान्छन् उनीहरू ।’

त्यसो त अहिले दलितहरू पनि चुप लागेर बसेका छैनन् । आफूहरूमाथि हँुदै आएको दुव्र्यवहारको प्रतिकार गर्न उनीहरू संगठित भएका छन् । त्यसका लागि उनीहरूले ‘मरिक डुम उत्थान कल्याण समिति’ गठनसमेत गरेका छन् ।

‘हामी संगठित भएर सामाजिक क्रान्ति गर्नेछौं,’ समिति अध्यक्ष्ा जलेश्वर मल्लिकले उत्साहित हुँदै भने- ‘अब हामी भाँडाकुँडा नबोकी होटलमा गएर खाना माग्नेछांै ।’ होटलवालाले खाना नदिए प्रशासनको सहयोग माग्ने उनले बताए । उनीहरूको अभियानमा दलित नेटवर्क र शान्ति समाजले सहयोग गर्ने जनाएको छ ।

श्रोत: कान्तिपुर दैनिक[2063-7-11]