ज्वाइँ बाजेका चोटपटक १

ए बाजे, झट्टै घर आउनु त, यहाँ पाहुना आ’छन् !’

माथि धानबारी कान्लाबाट देखिने चियापसलतिर फर्किएर डाँछीगाउँका बलराम लोहार चर्को स्वरमा कराए । तल बाजे भने आली बाटाको वल्लो छेउ र पल्लो छेउ खुट्टा जोल्ठिङ पार्दै माथि उक्लिरहेका थिए । एकाबिहानैबाट बाजेका ज्यानमा रक्सीको आनन्द फैलिसकेको रहेछ । 

‘तपाईंहरू आउँछ भन्ने मलाई थाहा थियो,’ कान्लामैं एकछिन् अडिएर बाजेले भने- ‘तर के गर्ने ? आफ्नो एकाबिहानै चिसो चिया खाने बानी छ…!’ more

साँखुमार्गमा पर्ने डाँछी गाविसको चलनटारमा भेटिए ४१ वषर्ीय अर्जुन सिंखडा जो बस्तीमा ‘बाजे’ भनेर चिनिएका रहेछन् ।

लर्खराउँदै डाँडाको घरमा पुगेपछि बाजेकी श्रीमती पोडिनी रिजाल, सासू ठूली रिजालसहितका परिवार भेला भए । बाहुन भएर कमिनी केटी बिहा गरेका कारण १८ वर्षयता आफ्नो घरपरिवारबाट निकालिएका अर्जुन केही वर्षदेखि ढुक्कै ससुरालीमा घर-ज्वाइँ बस्दै आएका रहेछन् ।

‘मैले यसलाई ०४५ साल वैशाख २ गते भगाएर ल्याएको हुँ,’ माथि घरका आँगनमा आएपछि श्रीमती पोडिनीलाई देखाउँदै अर्जुनले भने- ‘त्यसपछिको जिन्दगीको कुरै नगरौं !’ डाँछीको वडानं-३ स्थित ससुराली घरबाट अर्जुनको आफ्नो घर २० मिनेट पर्तिरको डाँछी-६ मा रहेछ । बाबु टेकनाथ सिंखडासहित भाइ/बुहारीको परिवार त्यहाँ बस्छ । २२ रोपनीभन्दा बढी घरखेत, घरबारी सबै कुरा छ । तर सबैभन्दा ठूलो कठिनाइ आफ्नै घरपरिवार र समाज बनिदियो जसका कारण अर्जुन ‘घर-ज्वाइँ’ चिनारीसँगै बनिबुतोमा ज्यान पालिरहेका रहेछन्् । उनकी श्रीमती पोडिनी भने घरेलु समयमा उन कात्ने काम गर्दिरहिछन् ।

‘नानी, यो घर ०४५ सालको भुइँचालोमा चिरिएको थियो,’ ९० वषर्ीया सासूआमा ठूलीले भनिन्- ‘त्यसपछि कहिल्यै टाल्न सकिएन ।’ नभन्दै सामुमा दुई चिरा परेको पराले-छाप्रो थियो जसको तल्लो तलामा केही बाख्रा, कुखुरा देखिन्थे । ससुरालीको १ रोपनी जमिनको उब्जनीले एकछेउ पनि धान्न नसक्ने भएपछि अर्जुन दिनभर अरूका बारीमा फसल काटिदिन र ज्यालाको मिस्त्री काममा जाँदा रहेछन् । उनकी १६ वषर्ीया जेठी छोरी ज्योतीले गाउँले

स्कुलबाट ६ कक्षा पढेर छाडेकी रहिछन् जो धेरैजसो छिमेकी आफन्तकहाँ बस्ने रहिछन् । १४ वषर्ीया कान्छी छोरी निर्मला र १० वषर्ीय अनिल चलनटार निमाविका विद्यार्थी भएकाले स्कुल जान हत्तारिंदै थिए । ‘डाँछीकै होटलमा चिया खान गयो भने पनि बाहिरै बस्नुपर्छ, चिया खाएर ग्लास माझ्नुपर्छ,’ चावहिलस्थित बि्रलियन्ट स्कुलमा ११ कक्षाका विद्यार्थी स्थानीय देवेन्द्र सुनार भन्दै थिए- ‘हाम्रो मात्रै के कुरा ? यी हाम्रा बाजे-ज्वाइँले पनि होटलमा चिया खाएर ग्लास मस्काउनुपर्छ ।’

१८ वर्षअघि अर्जुनले पोडिनीलाई भगाएपछि तिनको बिचल्लीका दिन सुरु भए । तिनले केही वर्ष चितवन, वीरगन्ज, विराटनगर डुल्दै दुःखजिलो गरिहेरे तर काखमा छोराछोरी बढ्दै गएपछि स्थिरताका लागि ती घर फिरे । ‘घरमा छिर्नै दिएनन्,’ अर्जुन भन्दै थिए- ‘कुनै सरसम्पत्तिसमेत पाउँदैनस् भनेका छन् ।’ अर्जुनकी आमा छइन्जेल लुकाएर भए पनि कहिलेकाँही खानेकुरा, पैसा छोरालाई ससुराली-घरमा पठाउने गरेकी रहिछन् । तर ती दयालु आमा बितेको पनि छ वर्ष भइसकेको रहेछ । ‘आमा खसेपछि मेरो दिमाक ठीक भएन,’ अर्जुनले भने-‘त्यसपछि म अलिक बढी नै चिसो चिया पिउन थालें ।’ यहाँसम्म कि एक वर्षअघि मात्रै नागरिकता लिएका अर्जुनले यसका लागि पनि उनले सानो कसरत गर्नुपरेन । छिमेकी दिदी जुना सुनारसहितको सहयोगमा थली चौकीबाट प्रहरी लगेर बाबु टेकनाथलाई समातेर काठमाडौं सीडीओ कार्यालय लग्नुपरेको थियो । त्यसपछि मात्रै बाबुले आफ्नो छोराको कागजातमा दस्तखत गरेका थिए ।

‘भाइहरूसँग बाटातिर भेट हुन्छ तर त्यति कुराकानी हुँदैन,’ अर्जुनले सुनाए- ‘पोहोरको दसैंमा बालाई सुन्तला/जुनार लिएर भेट्न गएको थिएँ । मलाई तिनै फलका दानाले हिर्काउँदै पो यतै खेदाए ।’ घरज्वाइँ-बाजेको दुर्दान्त जीवनको कथामा मुलपानीकै राजेश ढकालले एउटा फिल्म बनाउन भ्याएका रहेछन् । ‘घरको छाना हाल्न उचित सहयोग गर्छु’ भन्दै बाबुका घरमा लगेर बाबु-छोराको कुटपिट दृष्यसमेत खिच्न भ्याएका ढकालले काम फत्ते भएपछि भने नाकमुख नदेखाएको अर्जुनका परिवार र गाउँलेको भनाइ थियो । भुइँचालोले चिरिएको घरको पराले छाना पनि कस्तो रहेछ भने प्लास्टिकका टुक्राटुक्रीले छानो टालेको देखिन्थ्यो । चुहेको पानी थाप्नका लागि तल साँगुरो भुइँमा बाटा, बटुका राखिएको थियो ।

चलनटारका २९ घरमा १ सय ५० जति दलितको बसोबास रहेछ । ‘तर हामीलाई सिंगो समाजले कतिसम्म हेपेको छ भने गाविसका सचिवले आफूखुसी हाम्रो नागरिकताको सिफारिसमा चलनटारको नाम फेरेर कामीटार राखिदिएका छन्,’ गाउँमा भेटिएका सुरेन्द्र विकले सुनाए । डाँछीका अरू गाउँघरमा खानेपानीको धारा पुगेको भए पनि यही चलनटारमा मात्रै धारा रहेन छ । धानबारी फेदीको कुवाबाट ओसारेर सबैले पानी पिउँदा रहेछन्, त्यो कुवा पनि जग्गाको प्लटिङ्मा परेर टालिन आँटेको रहेछ । ‘राजधानीनजिक पनि यस्तो विभेदकारी र अन्यायपूर्ण जीवन छ भनेर म यसमाथि अध्ययन गरिरहेकी छु,’ चलनटारसहितका राजधानी वरपरका पछौटे दलित बस्तीमा आफ्नो पीएचडी सोध बनाइरहेकी युनिभर्सिटी अफ पिट्सवर्ग -पेनिसिल्भेनिया) की विद्यार्थी समृद्धि खरेलले सुनाइन्- ‘दलित हकहितमा काम गर्ने संघसंस्थाले सुदूर जिल्लाहरूमा मात्रै ध्यान पुर्‍याइरहेका बेला ‘बत्तीमुनीको अँध्यारो’ देखाउन यो अध्यनमा लागेकी हुँ ।’

नभन्दै अर्जुनका घरमा गफगाफमा आएका धेरैलाई आफ्ना क्षेत्रको सांसदको नामसमेत थाहा थिएन । ‘पहिले भने यहीं पारी मूलपानीका नारायण ढकाल सांसद थिए,’ बीचैमा कसैले भन्यो- ‘अहिले ईश्वर पोखरेल हो कि ?’ तर मुलुकमा ‘ठूला मुद्दा र कुरा’ मात्रै भइरहेका बेला आफ्नो गाउँमा धारा ल्याउन वा ज्वाइँ-बाजेको घरको छाना टाल्नमा कसैले मद्दत गर्ला भन्ने आशा उनीहरूमा बचेको थिएन ।

‘मैले हक माग्न सक्ने २० मुरी धान फल्ने खेत छ, पारी गाउँमा तीनवटा घर छन्,’ ल्हासामा सुन छ उखानकै प्रतिरूप बनेर अर्जुन भन्दै थिए- ‘अहिले भने अरूका घरबारीमा काममा जान्छु, बनिबुतो गरेर दिनको २ सय रुपैयाँ कमाउँछु । बाहुनहरूले धान बोक्न लगाए भने त भित्री चोटाकोठासम्मै मलाई छिर्न

दिन्छन् ।’ यसरी ‘चोटाकोठा’ मा छिनभरलाई छिर्न दिनुमात्रै पनि अर्जुनका जीवनमा ‘ठूलो कुरा’ बनेको रहेछ ।

जीवनमा के-के न गरौंला भनेर सपनामुखी बन्दै एकअर्कामा समर्पित बनेका अर्जुन र पोडिनी जीवनको यो मोडमा आएर थोरै आजित पनि देखिन्थे । जातीय विभेदको चपेटामा परेर जीवनमा पिना-पेलाई अनुभव बेहोरेपछि दुवैले एकअर्कालाई देखाउँदै भने- ‘बेकारमा यस्तो बिहा गरिएछ ।’ तर हार मान्ने अवस्थामा अर्जुन पुगिहालेका रहेनछन् । अबका दिनमा उस्तै परेमा आफ्नो अंश अधिकारका लागि बाबुसँग कानुनी मुद्दा लड्ने अठोटसमेत उनीभित्र भेटियो ।

‘मेरो भागमा परेको आमाको किरियाखर्च पनि कटाऊ, बाबुको औषधि खर्च पनि कटाऊ, अरू के-के कटाउनुपर्छ, सबै मेरो अंशबाट कटाऊ,’ आजित भए पनि आफ्नो घरबारी भएको दिशातिर फर्केर हात जोर्दै आसलाग्दो स्वरमा अर्जुनले सुनाए- ‘मलाई धान फल्ने खेत पनि चाहिँदैन, अरू जायजेथा पनि चाहिँदैन । एउटा छाप्रो हाल्न पुग्ने एक फोक्टो बारीमात्रै देऊ भनेर अब आफ्नो हक माग्न म जानेछु । लौ, म त मरिजाउँला तर यी छोराछोरीका लागि एउटा ओत लाग्ने छाप्रो त चाहियो नि !’

अर्जुनले यसो भनिरहेका बेला श्रीमती पोडिनी भने पर्तिर कुनाको चुल्हामा दाउरा झोस्दै थिइन् जहाँ सानो कराहीमा झोलयुक्त रामतोरिया सब्जी उम्लिरहेको थियो ।

श्रोत: कान्तिपुर दैनिका, कोसेली