दलित र पुरोहित सहभोज

मन्थली, कार्तिक १ – जातीय रूपमा सबैभन्दा माथि रहेका बाह्मणहरू लस्करै खाना खान बसेका । खाना र त्यसको सितन मासुको झोल बाड्ने भने दलित । बुधबार  मन्थलीमा आयोजित सहभोजमा यी दृष्य सामान्य भए ।

‘मलाई अलिकति झोल’ माथिल्लो जातका पुरोहितहरू कराउँदा गाउँकै दलितहरूले डाडुभरि झोल लिएर थपिदिँदाको क्षण हेर्न लायक थियो । सहभोजमा उपल्लो जात  भनिएका पुरोहित र दलित जातिहरू एकै लाइनमा बसेर मीठो मानी मानी मासु र भात खाइरहेका थिए ।

अधिकांश कार्यालय प्रमुख, राजनीतिक कार्यकर्ता, पत्रकार, समाजसेवी र अधिकारकर्मीले सहभोजमा दलितसँगै बसेर जिल्लामा पहिलोपटक सहभोज खाएका थिए । अझ  दलित-दलित बीचमा यसअघि देखिएको पानी बाराबारको स्थिति पनि सहभोजमा देखिएन । गाउँमा एकले छोएको अर्काले नखाने दलितहरूले पनि सहभोजमा एकले  दिएको अर्कोले धक फुकाएर खाए ।

सहभोजमा खाना र मासु बाँड्ने करिब आधा दर्जन दलितहरू खटिएका थिए । सहभोजमा समाजमा दलित भनेर चिनिएका दमाई, कामी, सार्की, बादी र कसाईहरूको  सहभागिता लगभग १ सयको हाराहारीमा थियो ।

जातीय छुवाछूतको कानुनमा अन्त्य भए पनि बेबहारमा अझै अन्त्य नभइरहेको अवस्थामा सहभोजको आयोजना गरी जातीय अधिकारको स्थापना गर्न प्रयत्न गरिएको  थियो । एक्सनएड नेपालको सहयोगमा तामाकोसी सेवा समितिले सहभोजको आयोजना गरेको हो । एक्सन एडको सहयोगमा तामाकोसी सेवा समितिले जिल्लाका  विभिन्न ६ गाविसमा जातीय अधिकार र राज्यले दिएका सेवा सुविधाका बारेमा दलितलाई प्रशिक्षित गर्न काम गर्दै आएको छ ।

छुवाछूतलाई बेबहारमा अन्त्य गराउन सहभोजले एउटा उल्लेखनीय काम गरेको सहभोजका सहभागीले बताए ।

सहभोजमा जान धक मान्नेहरू सहभोज खाएर फर्केपछि जीवनको पहिलो अनुभव सुनाउँदै दिनभर कुरा गरिरहेका थिए । सहभोजले समाजमा नराम्रोभन्दा राम्रो सन्देश  दिएको हुनुपर्छ, मन्थलीका गंगाबहादुर बिसुन्के भन्छन्- अझ यस्तो कार्यक्रमलाई जिल्ला सदरमुकामभन्दा समुदायमा पुर्‍याउनुपर्छ ।

श्रोत: कान्तिपुर दैनिक