सिनो नफालेकामा १८ घर चमार बहिष्कृत

जनकपुर, २३ असोज,  सिनो फाल्न नमानेकामा ठेराकचुरी गाविस-१ का १८ घर चमारलाई तीन दिनदेखि गाउँका कथित ठूला जातिकाले बहिष्कार गरेका छन् । उनीहरूलाई खानेपानी, हाटबजार, पसल र वन उपभोगमा समेत ‘बन्देज’ लगाएका छन् ।

स्थानीय चुल्हाई महराका अनुसार गत शनिबार राजदेव यादवको भैंसी मरेपछि चमारहरूले सिनो फाल्न इन्कार गरेका थिए । सिनो फाल्न नमानेलगत्तै कथित ठूला जातिहरूले गाउँमा बसोबास गर्ने चमारहरूलाई सार्वजनिक पोखरी, पाइप, पसल, बजार, मन्दिरलगायत सार्वजनिक स्थानमा आवागमन बन्द गराएका थिए । महराका अनुसार गाउँको चापाकलबाट पानी भर्न गएकी रामपुकार महराकी श्रीमती फूलगामावालीलाई स्थानीय रामेश्वर यादवले हातबाट पानी भर्ने भाँडा खोसी पानी भर्नबाट रोकेका थिए । त्यसपछि कचुरी गाउँका करिब सय चमार जाति सिँचाइका लागि जडान गरिएको कमसल हातेपाइप (जसको पानी खानलायक हुँदैन) को पानी खान बाध्य छन् ।

श्रोत: कान्तिपुर दैनिक