दलितलाई सामुदायिक वन

DalitOnlineNews(RON) with associate Dalit NGO Federation of Nepalप्रकाश बराल

पर्वत, असोज २१ – लामो समयदेखि दलितलाई प्रयोग गर्न नदिएको कारण विवादित बनेको सामुदायिक वन उनीहरूलाई नै  हस्तान्तरण गरिएको छ । खुर्कोट गाविसको भट्टेखाल्टा सामुदायिक वनमा पहिलोपटक दलितलाई समावेश गरिएको हो ।कथित उपल्लो जातिले यहाँका २४ घर दलितलाई सामुदायिक वनबाट वञ्चित गराएपछि  विवाद बढेको थियो । त्यसपछि विभिन्न क्षेत्रबाट आएको दबाबले वन हस्तान्तरण भएको हो ।

केही समयदेखि आफ्नो अधिकारबाट वञ्चित हुनुपरेपछि सबै दलित परिवारहरू जिल्ला वन कार्यालयमा आएर धर्ना दिएपछि सामुदायिक वन उपभोक्ता महासंघको विषेश पहलमा उनीहरूलाई वन हस्तान्तरण गरिएको हो ।

३ वर्षदेखि यहाँका दलितलाई सामुदायिक वन उपभोग गर्न नदिएको कारण खाना पकाउने दाउरासमेत पाएका थिएनन् । ‘वनको दाउरा उपयोग गर्न नपाएर हामीले थोत्रा लुगा पोलेर खाना पकाउने गरेका थियौं,’ हस्तान्तरित वनका प्रस्तावित अध्यक्ष दधिराम दर्जीले बताए । झन्डै ८ हेक्टर क्षेत्रफलमा फैलिएको यो वनमा घाँस-दाउरा गर्न नदिएका कथित उपल्लो जातिले दलितलाई कुटपिटसमेत गरेका थिए । कुटपिटबाट वनका प्रस्तावित अध्यक्ष दधिराम दर्जी गम्भीर घाइतेसमेत भएका थिए । उपल्लो जातिबाट केही सुविधा नपाएपछि उनीहरूले एक महिनाअघि अधिकारको खोजी गर्दैै जिल्ला वन कार्यालयमा ताला पनि लगाएका थिए ।

‘धर्ना, जुलुस र ताला लगाउनेलगायतका आन्दोलन गरेपछि दलितलाई सामुदायिक वन हस्तान्तरण गर्न जिल्ला वन कार्यालय बाध्य भएको हो,’ सामुदायिक वन उपभोक्ता महासंघ पर्वतका सचिवालय सदस्य किशोर सापकोटाले बताए । सामुदायिक वन उपभोग गर्न पाएपछि दलितहरू निकै खुसी भएका छन् । ‘अबदेखि दाउरा बालेर खाना पकाउन पाउने भयौं भन्दै खुसी मनाएका थिए,’ सापकोटाले भने । दलितलाई जिल्ला वन अधिकृत रामहरि सेढाई र सामुदायिक वन उपभोक्ता महासंघ पर्वतका अध्यक्ष खेमनाथ शर्माले संयुक्त रूपमा टीका लगाएर हस्तान्तरण गरेका थिए ।

पर्वतमा ३ सय ४ सामुदायिक वन रहेकोमा हालै हस्तान्तरण गरिएको भट्टेखाल्टासमेत समावेश भएपछि ३ सय ५ पुगेका छन् । पछिल्लो समयमा सामुदायिक वनको अवधारणा आएपछि यहाँका वन स्थानीयबासीले नै उपयोग र संरक्षणसमेत गर्दै आएका छन् । पहिले हुने सरकारी वनभन्दा सामुदायिक वनको सुरक्षा र उपयोग निकै धेरै भएको सापकोटाले बताए । ‘वन रक्षा गर्न समुदायलाई नै दिनुपर्ने रहेछ,’ हस्तान्तरण गरिएको वन पनि अब संरक्षित र उपयोगी बन्नेछ,’ सापकोटाले भने ।

श्रोत : कान्तिपुर दैनिक