दसैं अर्थात् जातीय एकता

 DalitOnlineNews(RON) with associate SIFT Nepal

वनकटवा बाँके, असोज १९ -छुवाछूत हटाउन यहाँका गाउँलेले बुधबार दलितहरूबाट दसैंका टीका र जमारा लगाएर सद्भाव साटासाट गरेका छन् ।

आपसमा टीका लगाउन बिहानैदेखि सबै जातजातीका बासिन्दा स्थानीय नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा लाम लागे । ब्राह्मण, क्षेत्री, दमाई, कामी, बादी, गाइने सबै जातका महिला र पुरुषले एकअर्कालाई टीका लगाउँदा ६४ वर्षीय शंखे वली निकै खुसी देखिन्थे ।

उनले सबैलाई सन्तानसरह आशीर्वाद दिए ।

दलित जागरण समूहको निम्तोमा टीका थाप्न आएका ती वृद्धले पहिलोपल्ट दलबहादुर सुनारको हातबाट टीका लगाई कार्यक्रमको उद्घाटन गरे । थालभरी राखेका अक्षेता र जमरा लगाइदिँदै वलीले उनलाई शत्रु नाश हुन् भन्ने आशीर्वाद दिए ।

त्यसपछि लाइनमा लागेकाहरूले पालैपालो परस्पर टीका लगाए । उनीहरू एकअर्कामा माया साटदै अंकमाल गर्दा उपस्थित सबैले खुसीले ताली पिटे ।

बादी महिला उषा नेपालीसँग एउटै थालीको टीका र जमरा लगाउने ७४ वर्षीया द्रोपती वलीले छुवाछूतको अन्त्य गर्न पाएकामा भाग्यशाली ठान्दै भनिन्- ‘मलाई त सबै आफ्नै छोराछोरीजस्तो लागेको छ ।’

बुढेसकालमा उनको यो पहिलो अनुभव थियो । अब उनले घरमै दलितहरूलाई दसैं मान्न बोलाउने र  आउनेलाई टीका लगाइदिने बताइन् । ‘हामीले भित्र्याएको कुरीति आफैंले फाल्नुपर्छ,’ उनले भनिन् । 

बाहुन, क्षेत्रीले आफूलाई यसरी टीका लगाइदिँदा २२ वषर्ीेया उषा बादी अझै खुसी देखिन्थिन् । दलितभित्रको छुवाछूतसमेत यहाँ हटाएर सबैले एकअर्कालाई सम्मान गरेका थिए ।

दुई सयभन्दा बढीले सार्वजनिक रूपमा गरेको यस्तो व्यवहारले खुसी भएकी उषा भन्छिन्- ‘पहिला छोइन नमान्नेहरूले दसैंको टीका र जमरा लगाई आशिष दिँदा धेरै खुसी छु ।’

श्रोत : कान्तिपुर दैनिक