डोम समुदायका बालबालिका, दसैंमा सधैँ मागेका लुगा

उपेन्द्र लामिछाने

निजगढ्, असोज ११ – यो दसैंमा तपाईंले कति जोर नयाँ लुगा हाल्नुभयो ? एक…, दुई … या चार जोर । तर यहाँका डोम समुदायका  बालबालिका भने अहिलेसम्म आफ्नो जीउमा नयाँ लुगा नपरेको बताउछन् । बारा जितपुरस्थित डोम टोलका उनीहरूले शरीर छोप्न  अरूको पुरानो लुगा माग्ने गरेका छन् ।

‘नयाँ लुगा लगाउने हाम्रो भाग्य नै छैन,’ डोम टोलको डिलमा उभिएका १० वर्षीय हीरालाल मलिले भने- ‘काम गर्न गएको घरबाट पुरानो लुगा माग्ने गरेको छु ।’ आर्थिकस्तर निम्न रहेका कारण उनी अर्काको घर तथा पसल बढारेर घरको गुजारामा सहयोग पुर्‍याउँदै आएका छन् ।

 उनीमात्र होइन यहाँ रहेका ४ डोम परिवारका २० भन्दा बढि बालबालिकामध्ये अधिकांशको जीउमा अहिलेसम्म नयाँ लुगा परेका उनका अभिभावकहरूले बताए । ‘ बिहान-बेलुका छाक टार्नसमेत धौ-धौ छ,’ ५ सन्तानका पिता हरि मली भन्छन्- ‘त्यसैले दसैं होस् या तिहार नयाँ कपडा किन्न कहिल्यै सकिएन ।’ बाँसको सामग्री  स्थानीय बजारमा बेचेर आएको पैसाले दुई छाकको रोटी मुस्किलले चल्ने गरेको उनले

थपे । नयाँ लुगा लगाउन नपाएको पीर यहाँका बालबालिको अनुहारमा प्रस्ट देखिन्छ । ‘गाउँ-घरमा त सबैको मैलो लुगा छ, दुःख लाग्दैन,’  ८ वषर्ीय अरजुना मली  भन्छिन्- ‘बजार जाँदा अरूको नयाँ लुगा देखेपछि भने पीर लाग्छ ।’ हरेक साल आउने पर्वमा नयाँ लुगाको आश रहने तर पर्वको समाप्तिसँगै मरेर जाने उनले बताइन् ।

कलैया, गन्जभवानीपुर, मधुवन, कोल्वीलगायतका गाउँहरूमा डोम समुदायको बाक्लो बस्ती रहेको छ । बारा जिल्लामा मात्र १ हजारभन्दा बढी जनसंख्या रहेको यो  समुदायमा दलित समुदायमा सबैभन्दा बढी उपेक्षित रहेको दलित नेटवर्क बाराका संयोजक रूपनारायण पाशवान बताउँछन् । ‘अन्य दलित समुदाय भन्दा डोम समुदाय  निकै पछाडि परेको छ,’ पासवान भन्छन्- ‘यिनीहरूका लागि सरकारले विशेष योजना ल्याउनु जरुरी छ । एक तथ्यांकअनुसार नेपालमा करिब ८ हजार ९ सय ३१ डोमहरू रहेका छन्  । तराईका रूपन्देही, सप्तरी, सर्लाही धनुषा जिल्लामा यिनीहरूको बाक्लो बस्ती छ ।

[2006-09-27 ]