दलितद्वारा मागपत्र विवाद चक्र्यो

दिपायल, भदौ २६ – दलितविरुद्ध सार्वजनिक स्थलमा विभेद गर्नेमाथि कारबाही गर्नुपर्नेलगायतका माग राखेर डोटीका दलितले जिल्ला प्रशासनमा ज्ञापनपत्र दिएका छन् । माग पूरा नभए सशक्त आन्दोलन गर्ने बताएका छन् ।

भदौ २१ गते दलितलाई मन्दिर प्रवेश गर्न दिइनु हुँदैन भनेर संसद्को घोषणालाई समेत चुनौती दिँदै पूजारीलगायतका केही गैरदलितले प्रदर्शन गरेपछि यहाँ विवाद चर्केको छ ।

दलितले संयुक्त संघर्ष समिति गठन गरेर प्रजिअलाई ६ बुँदे माग पत्र बुझाएको संयोजक धर्मसिंह विश्वकर्माले बताएका छन् । माग पत्रमा तीजका अवसरमा पूजा गर्न गएको दलित महिलामाथि अभद्र व्यवहार गर्ने पूजारीलाई कारबाही गरिनुपर्ने संसद्को घोषणाको विरुद्धमा दलित माथि विभेद राख्न गरिएको प्रदर्शनमा सहभागी कर्मचारी, शिक्षकलगायतकालाई छानबिन गरी कारबाही गरिनुपर्ने दलितका लागि ताल्चा लगाइएका शैलेश्वरी लगायतका मन्दिर खोलिनुपर्ने छन् ।

यसैगरी शैलेश्वरी मन्दिरसँग सम्बन्धित व्यक्तिको सम्पत्ति छानबिन गर्न दलितसहितको सहभागीतामा अधिकार सम्पन्न छानबिन समिति गठन गर्नुपर्ने दलितको सुरक्षाको ग्यारेन्टी हुनुपर्नेलगायतका माग छन् ।

जिल्ला सदरमुकाम सिलगढीमा रहेका मन्दिरमा अहिलेसम्म दलितलाई प्रवेश गर्न निषेध छ । संसद्को घोषणापछि पनि दलितलाई मन्दिर प्रवेश गर्न दिइनु हुँदैन भनेर प्रदर्शन भएपछि सुदूरपश्चिम भरिकै दलित संघसंस्थाका प्रतिनिधि डोटी ओइरिएका छन् । प्रजिअ बलदेव भट्टले ताल्चा खोल्ने प्रयास भइरहेको बताएको छ ।

स्रोत: www.ekantipur.com