राहतको ऋण तिर्दा सुकुम्बासी सरस्वती परियार

प्रदीप मेयाङबो

धरान, भदौ ४ – अठार वर्षअघिको भूकम्पसँग सबैको आ-आफ्नै प्रकारको सम्बन्ध छ । भूकम्पमा आफन्त गुमाउनुपरेको तीतो स्मृति, अपांग बन्नुपरेको पीडा र घरबारविहीन बन्नुपरेको जस्ता आ-आफ्नै दुःखद अनुभव छन् ।

तर उक्त भूकम्पसँग सरस्वती परियारको भने भिन्नै सम्बन्ध छ । त्यसबेला घरमात्र गुमाएकी परियार १२ वर्षपछि सुकुम्बासी बन्नु पुगिन् । ‘भूकम्पपछि लिएको बैंकको ऋण तिर्दा सुकुम्बासी बनें,’ उनी भन्छिन् ।

०४५ भदौ ५ गते गएको भूकम्पबाट पीडितका लागि राहत वितरण कार्यक्रमअन्तर्गत सरकारले सहुलियत दरमा ऋण उपलब्ध गराएको थियो । परियारले पनि ७ धुर जमिन धितो राखी घर बनाउन ऋण लिएकी थिइन् ।

बैंकले ऋण नतिरे जग्गा लिलाम गर्ने पटक-पटक चेतावनी दिएपछि परियारले जमिन बेचेर ऋण त तरिन् तर उनी भने सुकुम्बासी बन्न पुगिन् । ऋण तिरेर बाँकी रहेको रकमले सिलाइ मेसिन किनी उनी धरान- १५ स्थित एक थाप्रोमा चार छोरी पाल्दै आएकी छन् । 

स्रोत: http://www.kantipuronline.com/kolnews.php?id=83404